‘तीन वर्ष भित्र धुलिखेलमा एक घर एक धारा’ – नगर प्रमुख व्याञ्जु

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिका भित्र ३ वर्ष भित्र एक घर एक धारा अभियान सम्पन्न गर्ने बताएका छन् ।

सोमबार धुलिखेल नगरपालिका वडा नं. १ देविटारको छाँगे र वडा नं. ११ पात्लेखेललाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्दै नगर प्रमुख ब्याञ्जुले उक्त कुरा बताएका हुन् । नगरपालिकाको अन्य भागमा पनि उक्त कार्यक्रम मोडलका रुपमा संचालन गरी चाँडै नै यो अभियान सफल बनाउने प्रतिबद्धता समेत व्याञ्जुले व्यक्त गरेका छन् ।

‘खानेपानी मात्रै होईन सुरक्षित खानेपानीका लागि नगरपालिकाले विभिन्न क्षेत्रको सहयोगमा काम गरिरहेको छ’ नगरप्रमुख अशोक ब्याञ्जुले भने, ‘हामी दिगो विकासका लक्ष्यहरु अनुरुप सन् २०३० सम्ममा सम्पूर्ण जनसंख्यालाई सुरक्षित खानेपानीको सेवा पु¥याउन एक घर एक धाराको नीतिलाई समय भित्रै सम्पन्न गर्ने अभियानमा छौं ।’

पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा नेपाल सरकार, धुलिखेल नगरपालिका, फिनल्याण्ड सरकार, सिविक फोरम र युनिसेफ नेपालको सहयोगमा गरिएको आयोजकले बताएको छ । देवीटार स्थित छाँगेका ३० घरमा घरघर धारा जडान गरिएको छ ।

कार्यक्रममा नगरपालिका उपप्रमुख विमला शर्मा, फिनल्याण्ड दुतावासका यारी लुक्का, युनिसेफका तेमिडा अमाद, खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक मिना श्रेष्ठ, वडा अध्यक्ष रमेश घोरसाईने लगायतले सुरक्षित खानेपानीबाट उक्त समुदाय खुशी भएको बताए । यस क्षेत्रमा २ घर ब्राम्हाण र २८ घर तामाङ जातको समुदायले खोलाबाट पानी बोकेर ल्याउँदै जीवीका चलाउँदै आएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।