समाजवादी लक्ष्य पूरा गर्न एकताबद्ध भई अगाडि बढ्न अध्यक्ष प्रचण्डको आव्हान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले १३० औं विश्व मजदुर दिवसको अवसरमा पार्टीको समाजवादी लक्ष्य पूरा गर्न एकताबद्ध भई अगाडि बढ्न सबैमा अनुरोध गरेका छन् । अध्यक्ष प्रचण्डले विश्व मजदुर दिवसको अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।

‘१३० औं विश्व मजदुर दिवसको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मई १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ ।’

नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, १० वर्षे महान् जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको प्रतिफल नै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘परिवर्तन पछिको वर्तमान सरकार र हाम्रो पार्टीले संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ । श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिष्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ ।’ विज्ञप्तिमा लेखेका छन्, ‘अबको लक्ष्य भनेको नै देशको समृद्धिसँगै कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नु हो । यो आफैंमा एउटा युगान्तकारी कार्य हो । अन्तमा, विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक वर्ग समाजवादी लक्ष्य पुरा गर्न संगठित रुपमा एकतावद्ध भई अगाडि बढ्ने विश्वासका साथ पुनः एकपटक श्रमिक वर्गमा सुख, शान्ति र समृद्धिको कामना गर्दै बधाई ज्ञापन गर्दछु ।’

समाजवादी लक्ष्य पूरा गर्न एकताबद्ध भई अगाडि बढ्न अध्यक्ष प्रचण्डको आव्हान