मुलुकलाई फिजीकरण गराउन नागारिक विधेयक: सीपी गजुरेल

बनेपा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले ओली सरकारले भारतीय नागरिकहरूलाई प्रवेश गराएर मुलुकलाई फिजीकरण गराउन खोजेको आरोप लगाउनु भएको छ ।

यही बैसाख १८ गते उक्त मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनले लिएको नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित सन्देश सभामा बोल्नु हुँदै गजुरेलले जन्मको आधारमा र आंगिक नागरिकता पाएका व्यक्तिहरूका सन्तानलाई वंशजको आधारमा नागरिकता दिल्याउन हाल नागरिकता विधेयक ल्याउन खोजेकोले आफूहरू त्यसको विरुद्ध सडक आन्दोलन गरिरहेको कुरा बताउनु भएको छ । जनयुद्धको माग लोकतान्त्रिक गणतन्त्र नभई संघीय जनगणतन्त्र भएको र हालको संविधान पश्चागामी भएकोले त्यसलाई खारेज गरी अग्रगामी संविधान निर्माणमा समेत उहाँले जोड दिनु भएको छ । तत्कालीन प्रतिक्रियावादीहरूले प्रचण्ड र बाबुरामलाई खरीद गरेर क्रान्ति समाप्त गराउने सपना देखे पनि क्रान्ति नरोकिने कुरा बताउनु हँुदै विप्लवले पनि फुटेर जानुको औचित्य पुष्टि गर्न चुनौती दिनु भएको छ ।

ओली र प्रचण्डको रवैयाबाट उनकै पार्टी भित्रका देशभक्ति र राष्ट्रप्रेमी शक्तिहरू समेत कुनै दिन बाहिरिने कुरा बताउनु हँुदै ओली÷प्रचण्डको विकल्प माधव नेपाल वा शेरबहादुर देउवा पनि हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले आफ्नो आन्दोलन कुनै अमुक व्यक्ति र सरकार परिवर्तनका लागि नभइ सिंगै सत्ता र व्यवस्था परिवर्तनको लागि भएको जनाउनु भएको छ । जुनसुकै ठूलो परिवर्तन संसद वा सदनबाट नभएको इतिहास बताउनु हँुदै आफूहरूले निर्वाचनमा भाग लिए पनि मुख्य जोड सडक संघर्षलाई नै दिएको कुरा समेत बताउनु भयो ।

कार्यक्रममा मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवं ३ नं. प्रदेशका अध्यक्ष पवनमान श्रेष्ठले आजको दिन मजदुर वर्गको एक प्रकारको विजयको दिन रहेको कुरा बताउनु हँुदै मोर्चाले लिएको कार्यक्रमको बारे चर्चा गर्नुभएको थियो । अर्का केन्द्रीय सचिवालय सदस्य तथा ३ नं.प्रदेशका उपाध्यक्ष कान्छाराम तामाङले अन्य मुलुकमा विभिन्न प्रकारले वर्ग जन्मे पनि नेपालमा भने जातको आधारमा वर्ग निर्माण भएको कुरा बताउनु भएको छ ।

अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले विद्यार्थीहरूको आन्दोलनको दिशा भनेको शैक्षिक माफिया विरुद्ध केन्द्रित हुने कुरा बताउनु भएको छ । पूर्व केन्द्रीय सल्लाहकार विष्णुदास स्याउला, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ काभ्रेका संयोजक प्रदिप अस्तानी समेतले मन्तव्य राख्नुभएको सो कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवं काभ्रे इन्चार्ज सोमान सिं तामाङ, जिल्ला सचिव टंकराम अधिकारी, मोर्चाका ३ नं. प्रदेश सदस्य टेकबहादुर वि.क., क्रान्तिकारी युवा लीग ३ नं. प्रदेश संयोजक केशव ढल्कोटी, शहीद परिवारका तर्फबाट खेजराज न्यौपाने, रोशी गाउँपालिका वडा नं. ४ का वडा सदस्य गोपीमाया रानामगर लगायतका उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा लामो समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रही तत्कालीन मेच्छे गा.वि.स.मा संयुक्त जनमोर्चाको तर्फबाट उपाध्यक्षमा उम्मेदवार समेत भएको तर नारायणकाजी समूहसँगको अन्र्तसंघर्षका कारण निस्कृय रहनुभएका भिमराज तामाङलाई प्रमुख अतिथि गजुरेलले खादा ओडेर स्वागत समेत गर्नुभएको थियो ।

मोर्चाका जिल्ला अध्यक्ष जितबहादुर लामाको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिवालय सदस्य शोभा सेन्च्युरीले गर्नुभएको थियो भने सचिव गुञ्जमान तामाङले गर्नुभएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।