काभ्रेमा पुगेर प्रहरी महानिरिक्षक खनालले भने, ‘म अपराध र गुन्डागर्दी उन्मुलनमा लागेको छु’

काभ्रे । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफू अपराध र गुण्डागर्दी उन्मुलनमा लागेको बताएका छन् । आज (बुधबार) जिल्ला प्रहरी कार्यालय काभ्रे परिसरमा निर्माण भएको नयाँ भवनहरुको उद्घाटन गर्दै महानिरिक्षक खनालले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै खनालले पहुँचका आधारमा बलात्कार, अत्याचारका विषयमा प्रहरीले मिलापत्र गराउँछ भन्ने भ्रममा नपर्न प्रहरी सबैमा अनुरोध समेत गरे ।

जिल्ला प्रहरी कार्यालय परिसरमा हिरासत भवन सहित व्यारेक भवनहरु दुइवटा, सिनियर प्रहरी अधिकृत आवास एउटा र मेश भवन एउटा गरि पाँचवटा भवनहरु निर्माण भएको छ ।

भवनहरु ६ करोड ८४ लाख २० हजार ३४ रुपैयाँ लागतमा निर्माण भएकोे प्रहरी नायव निरिक्षक इं. इश्वर थापाले बताए । उनका अनुसार ८० जना जनशक्ति अट्ने गरि दुइवटा व्यारेक भवन सम्पन्न भएको छ भने ८ कोठाको सिनियर प्रहरी अधिकृत रहने एउटा भवन बनेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला समन्वय प्रमुख उद्धव केसी, डिआइजी दिपककुमार थापा, धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु लगायतले सम्बोधन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।