कुमारी माध्यमिक विद्यालयको ८ कोठे भवन हस्तान्तरण
काभ्रे । ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ३ नम्बर प्रदेशका स्थानीय तहहरुमध्ये खानीखोला र महाभारत गाउँपालिका विकासको पहिलो हकदार भएको बताएका छन् ।
जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित कुमारी माध्यमिक विद्यालयको नवनिर्मित ८ कोठे भवन हस्तान्तरण तथा नृत्य प्रतियोगिता २०७६ लाई सम्बोधन गर्दै उनले ३ नम्बर प्रदेशका १ सय ५९ स्थानीय तहमध्ये खानीखोला र महाभारत विकासको पहिलो हकदार भएको बताएका हुन् । ‘हामीले ३ नम्बर प्रदेशका बटम १० विकट गाउँपालिकाहरुको नाम निकाल्दा खानीखोला र महाभारत गाउँपालिका पनि परेको छ’ उनले भने, ‘अब यी दुइ वटै गाउँपालिकालाई विकसित बनाउन हामी लागि पर्छौ ।’

नेकपाका केन्द्रीय सदस्य समेत रहेका मन्त्री दुलालले मुलुकका सबै क्षेत्रको नेतृत्व सामुदायिक विद्यालयबाट उत्पादित व्यक्तिहरुबाट नै भएको बताए । उनले भने, ‘सामुदायिक विद्यालयबाट उत्पादन भएकाहरुबाटै सबै क्षेत्रको नेतृत्व गरिरहेको हामीले देख्न सक्छौँ, तसर्थ सामुदायिक विद्यालयलाई नराम्रो भन्ने होइन, राम्रो बनाउने हो ।’
मन्त्री दुलालले अन्य विद्यालयलाई हेरेर नमुना विद्यालय बनाउने सपना नदेख्न समेत आग्रह गरे । ‘नमुना विद्यालय अरुको हेरेर बनाउने होइन, कुनै विद्यालयलाई हेरेर तपाईले नमुना विद्यालय बनाउन खोज्दै हुनुहुन्छ भने तपाईले उसको विद्यालयको संरचना निर्माण गरुन्जेल उसले अर्कै बनाइसक्छ, तपाईको विद्यालय नमुना बन्न सक्दैन’ उनले भने, ‘नमुना अरुको हेरेर होइन, आफैँले बनाउने हो ।’
प्रदेश सरकार संघीयताको ब्युटी
मन्त्री दुलालले प्रदेश सरकार संघीयताको ब्युटी भएको टिप्पणी गरे । मुलुकका निम्ति संघीयता चाहिने हो भने संघीयता अनिवार्य रुपमा चाहिने बताउँदै उनले प्रदेश सरकार संघीयताको उपहार भएको समेत बताए । ‘प्रदेश सरकार भएन भने संघीयता बाँच्दैन, संघीय सरकार र स्थानीय त पहिल्यै थियो, तर प्रदेश थिएन’ उनले भने, ‘त्यसैले प्रदेश सरकार संघीयताको ब्युटी हो ।’ उनले समृद्धि ल्याउनका लागि सबैले मिहिनेत गर्नुपर्ने समेत बताएका थिए ।

कुमारीले पायो नयाँ भवन
कुमारी माध्यमिक विद्यालयले ८ कोठे नयाँ भवन प्राप्त गरेको छ । भुकम्पबाट क्षतिग्रस्त संरचना निर्माणको क्रममा नेपाल सरकार पुनर्निर्माण प्राधिकरण (शिक्षा) मार्फत् निर्माण भएको ८ कोठे भवनको मन्त्री दुलालले उद्घाटनका साथ हस्तान्तरण गरे । यससँगै विद्यालयको पठनपाठनमा सहज हुने विद्यालयका प्रधानाध्यापक होम बहादुर वाईबाले बताए ।
जगथलीसम्म बस् सरर, खानीखोलामा एम्बुलेन्स
यसैबीच जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित खानीखोला गाउँपालिका वडा नं. ४ स्थित जगथलीसम्म सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । यसको मन्त्री दुलालले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । गाउँसम्म सरर बस सञ्चालन भएपछि स्थानीय हर्षित् बनेका छन् । केही ठाउँमा बाटो स्तरोन्नती गरेपछि नियमित बस सञ्चालन हुने जनाएको छ ।
यससँगै खानीखोला गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । उक्त एम्बुलेन्सको मन्त्री दुलालले उद्घाटन गरे । गाउँपालिकाले झण्डै ११ लाख बराबरमा एम्बुलेन्स खरिद गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सांसद्द्धय चन्द्र लामा र रत्न ढकालले चुनावमा गरेका प्रतिबद्धता सबै पूरा गर्ने बताएका थिए ।






















