धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई १० वटा टेलिभिजन उपलब्ध गराएको छ । मंगलबार धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले एक कार्यक्रमबा बीच जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्कालाई हस्तान्तरण गरेका हुन् ।
करिब १८ हजार मुल्य बराबारको उक्त टेलिभिजन प्रहरी कार्यालयका हिरासत कक्ष, जवान कक्ष, जुनियर प्रहरी अधिकृत कक्ष, अधिकृत कक्ष र वेटिङ्ग कक्ष समेतलाई पुग्ने गरी नगरपालिकाले उपलब्ध गराएको हो । टेलिभिजन हस्तान्तरण गर्दै नगर प्रमुख ब्याञ् जुले देशभर रहेका प्रहरी हिरासत कक्षहरुलाई प्रविधि मैत्री र मनोरञ्जनका हिसावले पनि उपयुक्त बनाउन उक्त टेलिभिजन प्रदान गरिएको बताए ।
यस अघि प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले धुलिखेलमा निर्माण सम्पन्न भएका भवनहरुको उद्घाटन कार्यक्रममा प्रमुख ब्याञ्जुले भवनहरुको अवलोकन पश्चात टेलिभिजन उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु गरेका थिए ।
यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख खड्काले नेपालमै पहिलो पटक स्थानीय सरकारले हिरासत कक्षलाई प्रविधिमैत्री बनाउन हिरासतमा रहेका ब्यक्तिहरुको जीवनमा उर्जा प्रदान गर्ने उदेश्यले टेलिभिजन प्रदान गरेकोमा धुलिखेल नगरपालिकालाई धन्यवाद दिए । ‘यसको सदुपयोग हुनेछ, जिल्ला प्रहरी कार्यालय काभ्रे भित्र रहेका सबै भवनहरुमा यो सुविधाले मनोरञ्जन सहित उर्जा प्राप्त गर्नेछ’– एसपी रविराज खड्काले भने ।
कार्यक्रममा विष्णु दल गण धुलिखेल नेपाली सेनाका सेनानी श्रीकृष्ण पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी दिपक गिरी, नेपाल पत्रकार महासघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, राष्ट्रिय अनुसन्धानका डिएसपी सरोज निरौला, प्रहरी निरिक्षक दिपक राय, नगरपालिकाका लेखा प्रमुख धनबहादुर बस्नेत, वडा अध्यक्ष विष्णु धिताल, जनप्रतिनिधिहरु, कर्मचारीहरु, प्रहरी अधिकृतहरु लगायतको सहभागिता रहेको थियो ।






















