बेथानचोकमा रहेको नारायणस्थान मन्दिर झिलिमिली

बेथानचोक । काभ्रेको दक्षिणी भेगमा अवस्थित बेथानचोक नारायणस्थान झिलिमिलि भएको छ । महाभार पर्वत श्रृङ्खलाकै सबैभन्दा अग्लो बेथानचोक गाँउपालिका वडा नं ३ मा अवस्थित बेथानचोक नारायण स्थान मन्दिर परिसरमा सोलार बत्ती जडान गरेपछि झिलिमिली बनेको हो ।

प्राकृतिक सौन्धर्यता र मनोरम दृष्यावलोकनका लागि काभ्रेकै उत्कृष्ट गन्तव्य स्थलका रुपमा परिचित नारायणस्थान मन्दिरमा बेथानचोक गाँऊपालिका वडा नं ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ बिशेष पहलमा सेन्सरवाला सोलार बत्ती जडान गरिएको छ ।

वडा कार्यालयको आर्थिक सहयोग तथा हिमचुली मल्टिपर्पोच कम्पनी प्रालिको प्राविधिक सहयोगमा २ सय वाटको २ वटा सेन्सरवाला सोलार बत्ती जडान गरीएको हिमचुली मल्टिपर्पोच कम्पनीका प्रबन्ध निर्देशक रामहरी श्रेष्ठले जानकारी दिए ।

बेथानचोक नारायणस्थानमा आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्दै गएको बेला मन्दिरको पुनः निर्माणसंगै, पदयात्राको लागि सिंढी निर्माण लगायतका कार्यहरु गर्दै आएको बेथानचोक गाँउपालिका वडा नं ३ का अध्यक्ष दिल बहादुर श्रेष्ठले बताए । ‘बेथानचोक नारायणस्थान बेथानचोक गाँउपालिकाको मात्र नभई काभ्रेकै गौरव पनि हो । यसको मर्मत गर्नु, संरक्षण गर्नु हाम्रो दायित्व हो भन्ने कुरालाई महशुष गरी झण्डै चार लाख ७६ हजारको लागतमा सोलार बत्ती जडान गरीएको छ ।’ – वडा अध्यक्ष श्रेष्ठले भने ।

समुन्द्र सतह देखी ३०१८ मिटरको उचाई रहेको बेथानचोक नारायणस्थान मन्दिरमा पदयात्रामा आउने अन्तरीक तथा बाह्य पर्यटकहरु आउने गर्दछन ।

राती बेथानचोक मन्दिर परिसरमा बास बसी विहान सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकहरु संख्यामा बृद्धि आएको छ । अग्लो डाँडामा मन्दिर रहेका कारण रातको समय जंगली जनावारहरुको समेत डर हुने भएकाले राती बास बस्ने पर्यटकहरुलाई सहज होस भन्ने हेतुले बेथानचोक गाँउपालिका वडा नं ३ सँग समन्वय गरी सोलार बत्ती जडान कार्यमा कम्पनीले प्राविधिक सहयोग गरेको हिमचुली मल्टिपर्पोच कम्पनीका प्रबन्धक शिवशरण श्रेष्ठ बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।