रोशी गापाको भिमखोरीमा ४ दिनदेखि आगलागी, पुगेन कसैको चासो

अशोक बुद्ध लामा
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ भिमखोरीको जंगलमा आगलागी भएको आज ४ दिनसम्म पनि आगो नियन्त्रणमा लिने प्रयत्न भएको छैन ।

साविक भिमखोरी गाविस वडा नं. २, ३ र ५ मा रहेको जंगलमा शनिबारदेखि आगलागी भइरहेको छ ।
आगो नियन्त्रणमा नत स्थानीय सरकारले चासो लिएको छ नत स्थानीय प्रहरी प्रशासनले नै । धनधनी बलिरहेको आगो टुलुटुुलु हेरिरहेका छन् स्थानीय सरकार ।

‘हरियो वन नेपालको धन’ अब रोशी ११ मा देख्न नपाइने भएको छ । अधिकांश बनमा डढेलो लागेकाले बन्यजन्तु, रुखविरुवाको विनास भएको छ ।

यस विषयमा ११ नं. वडा अध्यक्ष मिलन लामाले आफूले गाउँपालिकामा जानकारी दिईसकेको प्रतिक्रिया दिए । सामाजिक सञ्जाल मार्फत अध्यक्ष लामाले सबै जनसमुदायलाई सचेत रहन समेत अनुरोध गरेका छन् । तर आगो नियन्त्रणमा लिन कुनै पहल भएको भने देखिएको छैन ।

त्यसैगरि इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुशिल केसीले भौगोलिक स्थितीका कारण दमकल पुग्न नसकेकोले आगो निण्न्त्रणमा लिन नसकेको प्रतिक्रिया दिएका छन् । ‘भौगोलिक अवस्था विकट भएकोले दमकलको व्यवस्था गर्न सकेको छैन । त्यसैले आगो नियन्त्रणमा समस्या भएको छ ।’ प्रहरी निरिक्षक केसीले भने, ‘कुनै मानविय क्षति भने भएको छैन ।’ आगो कसरी लागेको हो अहिलेसम्म पत्ता लागेको छैन ।

आगलागीका कारण सयौं हेक्टर जमिनमा फैलिएको जंगल पूरै नष्ट हुने अवस्थामा रहेको छ । सम्बन्धित निकायबाट आगो नियन्त्रण गर्न पहल हुनेपर्नेमा नभएकोमा स्थानीयले गुनासो समेत गरेका छन् ।

स्थानीय सरकार र स्थानीय प्रशासनले यसरी जंगलमा आगलागी हुँदा समेत आगो नियन्त्रणमा ल्याउने प्रयत्न नहुनु निक्कै दुखतपूर्ण कुरा होइन त ?

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।