काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबाले आफ्नो नगरपालिकामा शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । नगरपालिकाको आयोजनामा भएको ‘गणतन्त्र दिवस–२०७६ समारोह’ लाई सम्बोधन गर्दै नगर प्रमुख वाईबाले उक्त कुरा बताएका हुन् ।

मण्डनदेउपुर नगरपालिका वडा नं. ७ को कार्यायको प्रांगनमा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले निःशुल्क औषधी प्रदान गर्ने भनिएका औषधीहरु सबै स्वास्थ्य कार्यालयहरुमा पु¥याईसकेको बताए । ‘स्वास्थ्य र शिक्षाको क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकता राखिएको छ । जसअनुसार हामीले प्रत्येक स्वास्थ्य कार्यालयमा नेपाल सरकारले निःशुल्क वितरण गर्ने भनिएको औषधी पु¥याइ सकेका छौं ।’ प्रमुख वाईबाले भने, ‘अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठान–पाठन शुरु गरेको छ । सबैलाई पोशाक र खाजाको व्यवस्था नगरपालिकाले गरेको छ ।’

कम्युनिष्ट सरकारले केही गर्दैन भन्नेहरुले आफूले गरेको कामको फेहरिस्त सुनाउँदै उनले नगरभित्र के के काम भएछ हेर्न अनुरोध गरे । ‘हेरे हुन्छ, हामीले जे भनेका छौं त्यहीं गरेका छौं ।’ उनले भने ।
नेपाली जनताले मागेका सबै अधिकारहरु स्थापित भएकोले अब कुनै पनि आन्दोलनको आवश्यकता नभएको बताउँदै वाईबाले कम्युनिष्टको नाममा हिंसात्मक गतिविधि गर्ने विप्लब समूहलाई वार्तामा आई समस्या समाधान गर्ने तिर लाग्न अनुरोध समेत गरे ।

कार्यक्रममा नेकपाका नेताद्वय रीता ढकाल र विदुर सापकोटा, नेपाली काँग्रेसका नेताद्वय अच्यूत पौडेल र रामहरि सापकोटा लगायतले गणतन्त्र प्राप्तिको लागि भएको बलिदानीपूर्ण आन्दोलनको स्मरण गरे ।
समारोह अघि नगर प्रमुख वाईबा र उपप्रमुख निर्मला शाहीको नेतृत्वमा जनसमुदायको जुलुस नगरपालिका कार्यालयबाट समाजसेवा भवन हुँदै फेरि फर्केर वडा नं. ७ को कार्यालयमा समारोहमा परिणत भएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा समेत प्रदर्शन गरेका थिए ।






















