काभ्रे । आफ्नै विद्यालयका छात्राहरुलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा महाभारत गाउँपालिका–२ मा रहेको एक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरि बलात्कार प्रयासको आरोप लागेको एक शिक्षक भने फरार रहेको प्रहरीले जनाएको छ ।
कालिदेवी प्राथमिक विद्यालयका शिक्षक रामेश्वर राम र रामजी दासले आफ्नै विद्यालयका विद्यार्थीलाई बलात्कारको प्रयास गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेले रामेश्वर रामलाई पक्राउ गरेको छ । त्यसैगरि सोही आरोप लागेका अर्का शिक्षक रामजी दास भने फरार भएका हुन् ।
जेठ ९ गते माहाभारत गाउँपालिका–८ घर्तिछापमा भएको अध्यक्ष रनिङ सिल्ड प्रतियोगितामा भाग लिन आएका विद्यार्थीहरुमाथि ती दुई शिक्षकहरूले आफूहरुलाई बलात्कार प्रयास गरेको भन्दै पीडित विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दीपक रायका अनुसार कार्यक्रम सम्पन्न गरी घर फर्कने क्रममा बास बसेकै ठाउँमा ती शिक्षकले ४ जना छात्रामध्ये एक छात्रालाई बलात्कारको प्रयास गरेको भन्दै उजुरी आइतबार पीडित विद्यार्थीसहित अविभावकले जाहेरी दिएका थिए ।
पक्राउ परेका शिक्षक रामेश्वर रामलाई बाल यौन दुरुपयोग आरोपमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको रायले बताए । फरार शिक्षक रामजी दासको खोजी भइरहेको पनि उनले बताए ।
विद्यार्थीहरूलाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यालय व्यवस्थापन समितिको बैठक बसी शिक्षकद्वय रामेश्वर राम र रामजी दासलाई बर्खास्त गरेको प्रधानाध्यापक सुनील सारुले बताएका छन् । पक्राउ परेका शिक्षक रामेश्वर राम चक्रघट गाउँपालिका–७, सर्लाहीका हुन् ।






















