सर्लाही । जिल्लाको मलंगवा नगरपालिका वडा नं. ५ मा दाईजो नल्याएको भन्दै श्रीमानको कुटाईबाट श्रीमतिको दुई महिनाको गर्भ पतन भएको छ ।
माइतीबाट मोटरसाइकल र फर्निचर दाइजो नल्याएको भन्दै श्रीमान २२ वर्षका राजकुमार खिरहरीले आफ्नो १८ वर्षिया श्रीमति विनितादेवी यादवलाई कुटपिट गरेपछि गम्भीर घाइते हुनुका साथै २ महिनाको गर्भपतन भएको हो ।
शनिबार श्रीमानको कुटाइबाट गम्भीर घाईते भएका विनितादेवीको शरीरको विभिन्न ठाँउमा गहिरो चोट लाग्नुका साथै दुवै आँखामा रगत जमेको र नशा चुँडिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।
घाइते भएपछि उनलाई उपचारको लागि माइती पक्षले सदरमुकाम मलंगवा ल्याएका थिए । उनको माइती पक्षले कुटपिटमा संलग्न राजकुमारलाई कार्वाही गर्नु पर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पुगेका थिए । प्रहरीले आरोपित श्रीमानलाई गिरफ्तार गरे पनि २४ घण्टा पछि उनी छुटेका थिए ।
पीडित पक्षले लेखित उजुरी दिन नसकेको कारण उनलाइ पक्राउ गरी २४ घण्टापछि छाडिएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । श्रीमतीको उपचार गर्ने र अव कहिले पनि श्रीमतीलाइ कुटपिट नगर्ने सर्तमा श्रीमानलाई छोडेको प्रहरीले बताएको छ ।
सानो उमेरमा धेरै फकाएर बिवहा गरेको दुखेसो पोख्दै विनिताले अहिले मोटरसाइकल र फर्निचर चाहियो भनेर दिनदिनै कुट्दा दुइ महिनाको गर्भ खेर गएको बताइन् । माइती पक्षका अनुसार उनको विवाहमा एक लाख दाईजो दिएर सामाजिक परम्परा अनुसार नै बिवाहा गरिदिएको थियो ।






















