काठमाडौं । राजधानीको जमलस्थित नाचघरमा कवि फूलमान वलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । सांस्कृतिक संस्थानको आयोजनामा एकल कविता वाचन श्रृंखला ‘स्रष्टा र सिर्जना’अन्तर्गत १४ औं शृंखलामा विहिबार कवि वलले एकल कविता वाचन गरेका हुन् ।
कवि फूलमान वलले कर्यक्रममा १२ वटा कविता वाचन गरेका थिए । कार्यक्रममा बरिष्ठ लेखक एवं नेकपाका नेता रघुजी पन्तले कविताहरु शसक्त र उत्कृष्ठ भएको बताउँदै फूलमानका कविताहरु सौम्य र सालिन व्रिदोही चेतनाले भरिएको टिप्पणी गरे । ‘वलको लेखन शैलीको विशेषता हो ।’ पन्तले भने, ‘कसैलाई नविझ्ने शैलीमा गम्भीर कुराहरु कवितामार्फत व्यक्त गर्न सक्नु कवि वलको खुबी हो ।’
तामाङ समुदायलाई तत्कालिन राज्य सत्ताले विभेद गरेको स्पष्ट पार्दै ति उत्पीडनका आवाज वलका कवितामा आउनु स्वाभाविक र महत्वपूर्ण रहेको पन्तले बताए ।
साहित्यकार वासुदेव अधिकारीले कवितामाथि समीक्षा गर्दै वलका कवितामा तामाङ समाजको सजीव चित्रण भेटिएको बताए । ‘तामाङ समुदायभित्रको विम्वको प्रयोगले कविता सुन्दर र सक्तिशाली बन्न पुगेको छ ।’ अधिकारीले भने, ‘आफ्नो पहिचानको मुद्धा उठाईरहँदा सबै मान्छेबिचको सद्भाव र सहअस्तीत्वको चेतना जोड्न सक्नु कविको महानता हो ।’ वलका कवितामा अहंकारबाट माथि उठेर आफ्नो धरातल नविर्सिने सन्देश मिल्ने समिक्षा गर्दै अधिकारीले वलको कवितामा जातिय चेनता र साँस्कृतिक कुरा रहेको बताए ।
राष्ट्रिय सांस्कृतिक संस्थान नचाघरका महाप्रवन्धक राजेश थापाले स्रष्टाहरुको सम्मानमा हरेक महिनाको तेस्रो विहीबार श्रृंखलालाई निरन्तरता दिदै जाने बताए । कार्यक्रममा अनिल पौडेल, देवी नेपाल, माया ठकुरी, खगेन्द्र राई लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
कवि वलले यो शृंखलामा ‘आजका मान्छे’ ‘शीतलहर’, ‘बुद्धसँग जम्काभेट’, ‘दोस्रो जुनी’, ‘इन्द्रेणी गीत’, ‘बाग्मतीको आत्मलाप’, ‘भ्यालेन्टाइन्स डेको जुन’, ‘किड्नी‘ लगायत शीर्षकको कविता वाचन गरेका थिए ।






















