सुर्ती सेवनबाट नेपालमा बर्सेनि २५ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाका प्रमुख डा. विकास देवकोटाले सुर्ती सेवनको असर डरलाग्दो बनिरहेको बताए । मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको विश्व सुर्तीजन्य पदार्थरहित दिवस एवं स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण कार्यक्रममा डा. देवकोटाले यसलाई नियन्त्रण गर्न सबै जिम्मेवार हुनुपर्ने बताए । डा. देवकोटाले प्रत्येक वर्ष २५ हजार नेपालीले सुर्ती सेवनकै कारण ज्यान गुमाउनुपरेको बताए । त्यस क्रममा उनले सुर्ती सेवनका कारण विश्वमा प्रत्येक पाँच सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको जानकारी दिए । सुर्ती सेवनबाट प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको पनि उनले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखिएको छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सुर्तीजन्य पदार्थको सेवन रोक्न सके मृत्युदर स्वतः घट्ने बताए । उनले गुड्खाको प्रयोग व्यापक मात्रामा बढेकाले यसलाई रोक्न पनि आग्रह गरे । ‘विश्वका ठूला सहरहरू गुड्खाकै कारणले फोहोर छन् । भारतमा त यसको खोलले ढल जाम भएको अवस्था छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘नेपालमा पनि गुड्खाको खोलले ढल जाम हुने अवस्था देखिएको छ ।’ सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी कानुन बने पनि कार्यान्वयनमा आउन नसकेको अधिकारीहरूले बताएका छन् ।
नेपालमा ९० लाख अम्मली
स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव पुष्करराज नेपालले सुर्ती सेवन गर्नेहरू गरिब परिवारका बढी भएको बताए । उनका अनुसार नेपालमा ४८ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाले चुरोट सेवन गर्छन् । नेपालमा ९० लाख मानिसले चुरोट सेवन गर्छन् । नेपालका अनुसार यस क्षेत्रमा राज्यको लगानी वर्षमा एक अर्ब हुने गरेको छ । हुक्का सिसाको प्रयोग रोक्न पनि नेपालले आग्रह गरे । युवाको आकर्षण त्यसको प्रयोगमा बढ्दै गएकाले बारहरूमा प्रयोग गरिने हुक्का सिसा रोक्न माग गरे ।






















