काठमाडौं । प्रदेश ३ का प्रादेशिक सांसद रत्न ढकालले प्रदेश ३ नाम ‘नेवा–ताम्सालिङ’ नै हुनुपर्ने बताएका छन् । शनिबार नेवा–ताम्सालिङ समन्वय समितिले आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद ढकालले उक्त कुरा बताएका हुन् ।
प्रदेश ३ मा मुख्य गरि समुदाय तामाङ र नेवार भएकोले संविधानको मर्म अनुसार यो प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ हुनुपर्नेमा उनको जोड छ ।
‘यहाँको मुख्य समुदाय वा जाति नेवार र तामाङ छन् । झन्नै १७ प्रतिशत नेवार र २० प्रतिश तामाङ समुदाय छन् यस प्रदेशमा ।’ ढकालले भने, ‘यहाँ कुनै जाति विशेषलाई माया गरेर यो नाम ल्याएका हौइनौं । आजको मुलुकको राजनीतिक अवस्थाको जग बसाल्न यस प्रदेशका नेवार र तामाङ समुदायले मुख्य भूमिका खेले ।’
सबै आधारहरुलाई बुझेर यस प्रदेशका सांसदहरुको दुई तिहाई बहुमतले नेवा ताम्सालिङ नामकरण गर्न ढकालले प्रादेशिक सांसदहरुसँग सहयोगको आव्हान समेत गरे ।
नेपालको संविधान जन्माउनु अघि विभिन्न जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र जनजाति आन्दोलन मार्फत प्राप्त म्यान्डेटले संघीयको आधार पहिचान र सामथ्र्य नै रहेकोले प्रदेश ३ को लागि नेवा ताम्सालिङनै उपयुक्त भएको उनले तर्क गरे ।
कतिपयले विभिन्न ऐतिहासिक र धार्मिक स्थान वा खोलानालाहरुको नामबाट यो प्रदेशको नाम राख्ने हल्लाप्रति सांसद ढकालले रोष प्रकट गरे । ‘यो प्रदेशको नामकरण के हामीले भनेको जस्तो पहिचानलाई मुख्य आधार बनाएर गर्न सकिन्छ ?’ उनले भने, ‘पशुपति, गौरीशंकर वागमति भनिरहनु पर्दैन । यसले आफ्नो पहिचान बनाई सकेको छ । नेपालको पहिचान खोज्न सगरमाथा जानुपर्दैन, सुनकोशीमा जानु पर्दैन । हामीले भनेको खोजेको पहिचानको आधारहरु खोज्न आवश्यक छ ।’
यस अघि सांसद ढकालको समर्थनमा प्रदेशसभामा प्रदेशको नाम नेवा–ताम्सालिङ राख्न प्रस्ताव दर्ता गरिसकेका छन् ।






















