रोशी गापा उपाध्यक्षद्वारा इन्धन बापत पाएको खर्च टुहुरा र अपंगतालाई

अशोक बुद्ध लामा

काभ्रे । जिल्लाको रोशी गाउँपालिकका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाले गाउँपालिकाबाट आफुले पाउँदै आएको इन्धन खर्च वापतको रकम टुहुरा तथा अपंगता बालबालिकाहरुलाई वितरण गरेकी छिन् ।

उपाध्यक्ष बर्तौलाले पाउने इन्धन खर्च बापतको मासिक २५ हजारका दरले बर्षभरिको एकमुष्ट ३ लाख रकम बराबरको रकम रोशी गाउँपालिका भित्र रहेका टुहुरा तथा अपांग बालबालिकालाई वितरण गरेकी हुन् ।

आज (बुधबार) बर्तौलाले रोशी गाउँपालिका वडा नं. १२ शिखरपुरमा रहको गणेश मा.विका ४ जना अपांगता, रोशी ११ मा रहेको जुकेश्वारका १ जना अपांगता, पोक्रा मा.वि मा अध्ययनरत १ जना अपांगता र १ जना टुहुरा, शान्ति बुद्ध प्राविमा अध्ययनरत ४ जना टुहुरा र २ जना अपांगतालाई विद्यालयमै पुगेर नगद रु ६ हजार २ सय ५० रुपैयाँ रकम वितरण गरेकी छिन् ।

रोशी गाउँपालिकामा कुल २५ जना अपांगता बालबालिका रहेको २३ जना टुहुरा गरि ४८ जना अपांगता तथा टुहुरा बालबालिका रहेका छन् ।

जेठ २९, ३० र ३१ गतेभित्र सबै विद्यालयमै पुगेर उक्त सहयोग रकम वितरण गर्ने र आगामी बर्षमा पनि निरन्तरता दिने उपाध्यक्ष बतौलाले तेमाल अनलाईलाई बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।