काठमाडौं । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गुठी ‘सामान्तवाद’को एउटा स्वरुप भएकोले केही परिवर्तन गर्न खोजेको स्पष्टकरण दिएका छन् । आज मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बाँस्कोटाले यस्तो स्पष्टीकरण दिएका हुन् ।
‘सामान्तवादलाई हामीले भत्काइरहेका छौं। हामीले सामन्तवादको अन्त्य गर्ने कि नगर्ने?’ उनले भने, ‘म दोर्होयाएर भन्छु– केही कुरा सांस्कृतिक चिजसँग जोडिएका छन् तर गुठी सामन्ती उत्पादनसँग पनि जोडिएको छ, किसानका भूमिसँग सम्बन्धित समस्या समाधान गर्ने कि नगर्ने?’
उनले गुठी बेखारी, हलिया, कमलरी सामान्तवादका स्वरुप भएकोले गुठीले सामन्तवादको आर्थिक, सामाजिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गरेको स्पष्ट पारे ।
उपत्यका र उपत्यका बाहिरको गुठी
पत्रकार सम्मेलनमा उलने गुठीका सम्बन्धमा उपत्यका र बाहिरलाई फरक दृष्टिले हेर्नुपर्ने पनि बताए। ’उपत्यकाभित्र सांस्कृतिक कुरा पनि छ तर बाहिर अर्कैै छ। त्यसैले सांस्कृतिक मूल्य मर्न नदिनेगरी परिवर्तन जरुरी छ ।’ उनले भने।
उनले कतिपय त निजी गुठीसमेत रहेको उल्लेख गरे। आफ्नै जिल्ला (काभ्रे) को पलाञ्चोक भवगती मन्दिर गुठीको उदाहरण दिँदै उनले केही परिवर्तन जरुरी रहेको प्रस्ट गरे । ’पलाञ्चोक भगवती प्रसिद्ध मन्दिर हो,’ उनले भने, ‘त्यहाँका २७ सय परिवारले त्यो गुठीको जमिन प्रयोग गरेका छन्। जग्गा व्यक्तिकै नाममा छ तर गुठीमा जनााइएको छ । बच्चा कहीँ पढाउँछु भनेर ऋण झिक्न पनि गाह्रो छ।’
उनले आमूल परिवर्तन भएन भन्ने तर परिवर्तन गर्न नदिने गरेको समेत उल्लेख गरे। गुठीका सम्बन्धमा उनले सांस्कृतिक पक्षमा कुनै हस्तक्षेप नगरी सुधार गर्न सरकार अघि बढेको बताए ।






















