तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । रामेछाप सम्पर्क समिति, दोलखाली समाज र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले संयुक्त, तमु धीं र सुदुरपश्चिम समाजले आगामी सेप्टेम्बरमा छुसकको अवसरमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
आइतबार सउलको नेपाल हाउसमा नेपाली सम्पर्क समितिले गरेको कार्यक्रम बाँडफाडमा तीन जिल्लाले १२ र १३ तारिकका दिन तमु धीं कोरिया र सुदुरपश्चिम समाजले गर्ने सहमती भएको हो ।
दोलखाली समाज, सिन्धुपाल्चोक सेवा समाज र रामेछाप सम्पर्क समितिले एक साताअघि तीनै जिल्लाले सामुहिक रुपमा एकैसाथ कार्यक्रम गर्ने सहमती गरेका थिए ।
सामाजिक उद्धेश्य राखी नेपालबाट चर्चित कलाकारहरुमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिमा सम्पन्न हुने बृहत सांगितिक कार्यक्रम गर्न धेरैले चाहन्छन् । सफलताको लागि संयुक्त गर्दा एकआपसमा सदभाव कायम हुनेभएकोले संयुक्त कार्यक्रम गर्न लागिएको रामेछाप सम्पर्क समितिका अध्यक्ष रविप्रताप घिसिङले बताएका छन् ।
बाँडफाड कार्यक्रममा भक्तपुर समाज र मद्येशी कोरिया समाजले पनि कार्यक्रम मागको अवेदन दिएको थियो । तर दुई संस्थालाई अर्को पटक दिने मौखिक सहमतीमा निवेदन फिर्ता गराएको थियो ।
कार्यक्रम बाँडफाटको निर्णायक मण्डलका संयोजक एनसीसीका अध्यक्ष अन्जु केसी, सदस्य एनसीसीका सल्लाहकार चित्रबहादुर मोक्तान, नेपाल आदिवासी जनजाति महासंघ कारियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, डा. अग्निराज कोइराला, पत्रकार महासंघ कारियाका अध्यक्ष रञ्जनराज कुंवर, श्रीप्रसाद श्रेष्ठ, प्रदेश ३ एकता समाजका अध्यक्ष किशोर ब्लोन रहेका थिए ।
कार्यक्रम बाँडफाडका प्रमुख अथिति एनआरएनए एसिया प्यासिफिकका उपसंयोजक विनोद कुंवर रहेको थियो । सांगीतिक कार्यक्रम माग गर्ने संस्थाहरुले मागको निवेदनसहित कार्यक्रम गर्ने उद्देश्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मनोरञ्जनात्मक, सामाजिक, परोपकारी कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन आ-आफ्नो ठाँउबाट सक्दो साथ र सहयोग पुर्याइदिन हुन दोलखाली समाजका अध्यक्ष सरोज केसिले कोरियावासी नेपाली, संघ–संस्था, पत्रकार, समाजसेवी, बुद्धिजीवी, ब्यापारी, बिद्यार्थी तथा विभिन्न भिसामा रोजगारको शिलसिलामा कोरिया रहनु हुने समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा अपिल गरेको छ ।
























