मन्डनदेउपुर । काभ्रे जिल्लाको मन्डनदेउपुर नगरपालिकाका ६० जना युवाहरुले रोजगार पाएका छन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत मन्डन देउपुर नगरपालिकाले शुक्रबारबाट ६० जनालाई रोजगार दिएहो हो ।
रोजगार कार्यक्रमको शुभारम्भ नगरप्रमुख टोकबहादुर वाईबाले कुन्ता–जिरोकिलो तथा मन्डन देउपुर नगरपालिकाभित्रका सडक खण्डमा सावेल र बेल्चा चलाएर गरे ।
रोजगार शुभारम्भ कार्यक्रममा वाइबाले आफू पनि कृषि तथा किसानसँग जोडिएका सबै काम गर्न सक्षम रहेकोले बताउँदै श्रमको सम्मान गर्नुपर्नेमा जोड दिए ।
‘श्रमको सम्मान जरुरी छ, वैदेशिक रोजगार छोडेर बसेका समेतलाई गरी प्रत्येक वडाका ५ जनालाई समेटेर सुरुमा ६० जनालाई रोजगार दिदैछौं ।’ वाईबाले रोजगार पाएका युवाहरुलाई सम्बोधन गर्दै भने, ‘यहाँहरुले ईमान्दारिताका साथ काम गर्नुभयो भने अरु अवसरहरु पनि प्राप्त हुन्छ ।’
कार्यक्रममा नगर प्रमुख वाईबा युवाहरुको समुह बनाइ आएमा नगरको तर्फबाट व्यवसायका लागि प्रतिव्यक्ति २ लाख रुपैयाँ अनुदान प्रदान गरिने समेत जानकारी दिए ।
‘आफ्नै गाउँठाउँमा केहि गर्न तदारुकता देखाउने युवालाई समूह बनाएर आएमा व्यवसायका लागि प्रतिव्यक्ति २ लाख रुपैयाँ बजेट नगरले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’ वाईबाले भने, ‘युवालाई रोजगार दिई समृद्ध नेपाल निर्माणमा उनीहरुलाई प्रत्यक्ष संलग्न गराउन अहिले पहिलो चरणमा ‘प्रधानमन्त्री रोजगार कोष’ बाट प्राप्त २९ लाख रुपैयाँ बजेटमा नगरले २० लाख थपेर यो कार्यक्रम अगाडि बढाएका छौं ।’
गाउँमै रोजगार पाएपछि युवाहरु खुशी भएका छन् ।






















