काठमाडौं । निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा उपचार गर्ने क्रममा खुट्टामा नेल लगाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल फुकाल्न कडा निर्देशन दिएका छन् । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् सम्बन्धित निकायलाई शनिबार निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले नेल लगाउन निर्देशन दिने सम्बन्धित व्यक्तिलाई समेत कारबाही गर्न रेग्मीलाई भनेका छन् । ओलीले अस्पतालमा हुँदा नेल लगाउनु मानवीय नभएको र मानवअधिकार विरुद्ध भएको बताएका छन् । ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ’पहिला कुनै व्यक्ति खराब आचरण हुँदा नेल लगाउने चलन थियो । तर अहिले त्यस्तो अवस्था छैन। चौधरीलाई नेल फुकाएर उपचार गराउनु ।’ फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको थियो।
चौधरीको खुट्टामा प्रहरीले मोटो नेल लगाइएको थियो । दुई सातादेखि बिमार चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहीबार अस्पताल भर्ना गरिएको हो । फोक्सोमा समस्या उत्पन्न भएपछि चौधरीलाई सास फेर्न गाह्रो हुने गरेको छ। ढाडको बोनम्यारोमा पनि समस्या देखिँदा उनी हिँडडुल गर्न नसक्ने भएको पारिवारिक स्रोतको भनाइ छ।
चौधरीलाई अस्पतालमा परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका हतियारधारी प्रहरीले कुरिरहेका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको तस्बिरसहितको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले शनिबार घटनाबारे चासो राख्दै निर्देशन दिएको बुझिएको छ ।






















