मन्डनदेउपुर । काभ्रेको मन्डनदेउपुर नगरपालिका वडा नं. ०४, चैनपुर नयाँगाउँमा रहेको महाकाली माविको नवनिर्मित भवन शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
नगरपालिकाको संयोजन तथा मुक्त नेपालद्वारा निर्मित ४ कोठे उक्त नवनिर्मित विद्यालय भवन नगर प्रमुख टोकबहादुर वाईका र संस्थाको ईभी जमर्ननी अध्यक्ष एलिना रुडल्सले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको हो ।
२०७२ बैशाख १२ को भुकम्पले भवन भत्किए पछि उक्त संस्थाले १ करोड ३१ लाखको लागतमा उक्त विद्यालय भवन पुनःनिर्माण गरिएको हो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधान गर्दै नगरप्रमुख वाईबाले नवनिर्मित भवनको जतन गर्न र अधिकतम सदुपयोग गर्न विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गरे । ‘भौतिक पूर्वाधारको विकाससँग अब गुणस्तरीय शिक्षामा जोड दिन म सबैमा अनुरोध गर्दछु ।’ नगरप्रमुख वाईबाले भने, ‘भौतिक विकासमा मुक्त नेपालले खेलेको भुमिकाप्रति म धन्यबाद दिन चाहन्छु ।’
नगर उपप्रमुख निर्मला शाहीले मन्डनदेउपुरको विकास गर्न हातोमालो गर्न आएको मुक्त नेपाललाई सदैव स्वागत गर्ने बताइन् ।
कार्यक्रममा शैक्षिक विकासमा ठोस योगदान दिने उद्देश्यले मुक्त नेपालले मन्डनदेउपुर रोजेको मुक्त नेपालका नेपालका अध्यक्ष राजकुमार खत्रीले बताए । भूकम्पका कारण ध्वस्त भएको उक्त विद्यालयको भवन पुनःनिर्माण भएपछि अभिभावक, शिक्षक र विद्यार्थीहरु खुशी भएका छन् ।






















