भकुन्डे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले संघीय सरकारको निर्देशन बमोजिम आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने प्राब्धन रहेको छ ।
नमोबुद्ध नगरपालिकालाई समृद्ध नगर बनाउ भनेर विभिन्न योजनाहरु अघि सारेको छ । ‘कृषि, वातावरण, व्यापार, पर्यटन र उद्योगको विकास, सुन्दर र समृद्ध नगरपालिका निर्माण हाम्रो सशक्त अभियान’ भन्ने नाराका साथ नगर प्रमुख टीपी शर्मा तिमल्सिनाल नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
नगर प्रमुख शर्माद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा मा जैविक कृषि उत्पादन, पर्यटन र व्यापारबाट नागरिकको आयस्तरमा उल्लेखनीय रुपमा बृद्धि गर्दै पाँच वर्ष भित्रमा मध्यम आय भएका देशका नागरिक सरह बनाउने लक्ष्य रहेको उल्लेख छ । साथै सडक तथा यातायात, खानेपानी तथा सरसफाई, कृषि तथा पशुपन्छी विकासमा जोड दिएकोे छ ।
उनले बस्ती विकास तथा भुकम्प प्रतिरोधी भवन निर्माण, विद्युत तथा वैकल्पीक उर्जा, वातावरण संरक्षण, सुचना सञ्चार तथा प्रविधि विकास, संस्थागत विकास तथा मानव संसाधन, आदिवासी जनजाती, बालबालिका, महिला, ज्येष्ठ नागरिक, दलित, अपांग लगायतका क्षेत्रमा नीतिहरु पनि सार्वजनिक गरिएको छ ।
नगरको पहिचान विश्वभर फिजाउन, नमोबुद्धलाई राष्ट्रिय बुद्ध सर्किटमा जोड्ने, नमोबुद्धमा सुचना केन्द्र स्थपना गर्ने लगायतका कार्यक्रमलाई पनि शर्माले महत्व दिएका छन् ।
दुई छोरी पाएपछि परिवार नियोजन गर्नेलाई पुरस्कृत गर्ने
नगरप्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुई छोरी पाएपछि परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान र पुरस्कृत गर्ने योजना बनाएको छ । छोरा र छोरी बीच विभेद गर्ने परम्परालाई पूर्णरुपमा हटाउन यो योजना ल्याएको शर्माले बताए ।
पूननिर्माणको कामलाई व्यवस्थित बनाउने
भूकम्प पछिको पूननिर्माणको कामलाई नगरभित्र व्यवस्थित बनाउने नीति नगरले लिएको छ । शर्माले पुननिर्माणको कामलाई अझ व्यवस्थित बनाउने, भुकम्प प्रभावितहरुको गुनासो सम्बोधन गर्ने, भुकम्प प्रतिरोधी संरचना निर्माण, भवन आचार संहिता कार्यन्वयन जस्ता विषयमा पनि जोड दिईएको छ ।






















