काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुपरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।

यसरी हेर्नुहाेस् नतिजाः

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा जान्न नेपाल टेलिकमको मोबाइलबाट एसइईपछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्छ । एसइई स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर थाहा पाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

यो बाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।