भिडियो हेर्नहोस्ः

पनौति । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बालबालिकाहरुलाई धनी होइन इमान्दार बन्न सिकाउन अभिभावकहरुलाई अपिल गरेका छन् । काभ्रेकाे पनौति नगरपालिका वडा नं. २ र ३ लाई शनिबार बालमैत्री स्थानीय शासन घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त अपिल गरेका हुन् ।

‘तपाईले आफ्नो बालबालिकालाई ‘हामी धनी बन्नुपर्छ’ भन्ने होइन, इमान्दार बन्न सिकाउनुहोस् ।’ बाँस्कोटाले भने, ‘धनी मात्र बन्ने कुराले सुख हुँदैन । इमान्दार हुनुपर्छ ।’

त्यसैगरि मन्त्री बाँस्कोटाले श्रम र सँस्कृति प्रति सम्मान गर्न आफ्ना बालबालिकालाई सिकाउनुपर्ने बताउँदै श्रम गर्न नसिकाए उत्पादकत्व घटेर जाने चिन्ता ब्यक्त गरे । ‘हामीले श्रम गर्न हुँदैन भन्ने होइन, असाध्यै धेरै गर्नुपर्छ भनेर सिकाउनुपर्छ । श्रमगर्नु पर्दैन भन्दै गए उत्पतकत्व त समाप्तै भएर जान्छ नि ।’ उनले भने, ‘श्रम साँस्कृति र सम्मान सँस्कृतिको पनि विकास गर्नुपर्छ । सभ्यता र साँस्कृति समाजले सिकाउनुपर्छ । विद्यालयमा त औपचारिक शिक्षा मात्र दिन्छ ।’ अबको शिक्षा प्राविधिक हुनुपर्नेमा उनले जोड दिए ।

भिडियो हेर्नहोस्ः

‘प्राईभेट’ विद्यालयको काम फि बेस्सरी लिने मात्र

सरकारी विद्यालयले सबथोकको व्यवस्था गरेको बताउँदै मन्त्री बाँस्कोटाले ‘प्राईभेट’ विद्यालयको काम फि बेस्सरी तिराउने मात्र रहेको स्पष्ट पारे ।

‘दिवा खाजाको व्यवस्था छ प्राइभेटमा ? तालिम प्राप्त शिक्षक छन् ? छैनन् । राम्रो भवन छन्? छैनन् । फि मज्जाले तिराउँछन् ।’ उनले भने । अब शिक्षकहरुसँग झगडा हुने उनले खुलासा गरे । ‘एक चोटी झगडा पर्ने वाला छ सरहरुसँग ।’ उनले थपे, ‘कुनै पनि शिक्षकहरुको बालबालिका नीजि विद्यालयमा पढाउन पाउने छैन । हामीले यो योजना पनि ल्याउँदैछौं ।’

प्रतिपक्षलाई दिउसै सपना नदेख्न अपिल

मन्त्री बास्कोटाले वर्तमान सरकार ढाल्ने तागत प्रतिपक्ष दलमा नभएकोले दिउँसै सपना नदेख्न अपिल समेत गरे ।  यस अघि प्रमुख प्रतिपक्ष कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रममा सरकार ढाल्ने चेतावनी दिएका थिए । ‘वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने तागत कस्को छ ?’ प्रतिपक्षलाई प्रश्न गर्दै मन्त्री बाँस्कोटाले भने, ‘दिउँसै सपना नदेख्नु होला एउटै पार्टीको दुई तिहाईको सरकार ढाल्ने कस्को हिम्मत छ ?’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।