नेत्रविक्रम चन्द ‘विप्लव’

संखुवासभा । नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह)का कार्यकर्ताहरु र प्रहरी बीच गोली हानाहान हुँदा विप्लबका तीन कार्यकर्ताहरु बेपत्ता भएका छन् । संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँग भएको गोली हानाहानपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता बेपत्ता भएका हुन् ।

प्रहरीसँगको गोली हानाहानपछि सिलिचोङबाटै सम्पर्कमा आएका विप्लवका एकजना जिल्ला नेताले आफ्ना तीनजना कार्यकर्ता बेपत्ता भएको जानकारी दिए।

प्रहरी स्रोत अनुसार गोली हानाहान भएपछि घटनास्थल भन्दा केही परेको तेन्छोबाट विप्लवका एकजना कार्यकर्ता पक्राउ परेका छन् । तर जिल्लास्थित सुरक्षा अधिकारीहरु यो कुराबारे केही बोल्न तयार छैनन् । ‘हाम्रो टोली भात खाइरहेका बेला प्रहरीले अचानक हामीमाथि फायरिङ र्गयो’, ती नेताले भने, ‘त्यही क्रममा तितरबितर हुँदा हाम्रा तीन कार्यकर्ता बेपत्ता भएका छन् ।

उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन।’ घटनास्थलमा गोली चले पनि अहिलेसम्म हताहतीको कुनै जानकारी छैन। उक्त समूहका महासचिव विप्लवको सचिवालयका एक नेताले पनि संखुवासभाबाट आफ्ना तीन कार्यकर्ता बेपत्ता भएको जानकारी दिए । बेपत्ता भएका कार्यकर्ताको विवरण विप्लव समूहले पनि उपलब्ध गराउन सकेको छैन ।

हेलिकोप्टरको गस्त कायम
गोली हानाहानपछि सरकारले सिसुवा क्षेत्रमा सेनाका तीनवटा हेलिकोप्टर ओरालेको थियो । ती हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका २५–२५ जना टोली लगिएको थियो । त्यस्तै सदरमुकाम खाँदबारीबाट केही दिनअघिबाटै त्यो क्षेत्रमा सशस्त्र प्रहरीको २० जनाको टोली गस्तीमा थियो ।

त्यतिकै संख्यामा नेपाल प्रहरीको टोली पनि गोली हानाहानपछि खाँदबारीबाट इन्सपेक्टरको कमाण्डमा १७ जनाको अर्को टोली त्यसतर्फ पठाइएको थियो । विप्लवका कार्यकर्ता खोज्न ताम्कु र सिसुवाबाट पनि प्रहरी परिचालित गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।