काठमाडौं । विभिन्न समयमा ठगी गरेको आरोपमा काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेल निवासी गुण्डा नाईके सत्यमान लामालई प्रहरीले पक्राउ गरेको छ ।आज (मंगलबार) महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको विशेष टोलीले लामालाई पक्राउ गरेको हो ।
महाशाखाका स्रोतका अनुसार उनले भूकम्प पीडितका लागि काभ्रेको तेमाल गाउँपालिकामा हस्पिटल बनाउँछु भनेर १ करोड ७५ लाख रुपैयाँ लिएका थिए । ताइवानको संस्था ‘वल्र्ड विथ आउट सफरिङ’बाट रकम लिएर उनले काम नगरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
तर, विस्तृत अनुसन्धानका लागि अख्यितारले महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुलाई पत्राचार गरेको थियो । अनुसन्धानका क्रममा लामाको बैंक खातामा पैसाको कारोबार देखिएको थियो ।
पीडितका अनुसार लामाले रकम लिइसके पनि हस्पिटलको जग समेत हालिएको छैन । लामा अर्का गुण्डा नाइके दावा लामाका सहयोगी समेत हुन् । उनी बोदिचित्तको व्यापार समेत गर्छन् । उनको नाम रक्तचन्दन तस्करी पनि मुछिएको थियो ।
यसअघि अघिल्लो वर्ष २८ असारमा काठमडौं प्रहरी परिसर, टेकुले सत्यमानलाई किसानको माला लुटपाट गरेको अभियोगमा पक्राउ गरेको थियो । गुण्डाको वर्गीकरणमा प्रहरीले उनलाई ‘क’ वर्गको सूचीमा राखेको छ । लामामाथि प्रहरीले लुटपाट, गुण्डागर्दी र अवैध डलर कारोबारमा संलग्न भएको आरोप लगाउँदै आएको छ ।






















