सुध्रन्छु भन्दा सुध्रिन दिनुपर्छ भन्दै मनाङ्गेलाई गराए नेकपा प्रवेश

पोखरा । चर्चित गुण्डा तथा मनाङ जिल्ला ‘ख’ बाट निर्वाचित स्वतन्त्र प्रादेशिक सांसद राजीव गुरुङ (दिपक मनाङे) आज (विहिबार)नेकपामा प्रवेश गरेका छन् ।

मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा गण्डकीका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीमा प्रवेश गराएका हुन् । यस अघि नेकपामा प्रवेश गर्ने चर्चा चलेको थियो ।

इन्चार्ज गुरुङले मनाङेलाई टिका खादा लगाएर नेकपाको विधान र निर्देशिका हस्तान्तरण गरेर पार्टी प्रवेश गराएका थिए । मनाङेलाई नेकपामा स्वागत गर्दै मुख्यमन्त्री गुरुङले कुनै व्यक्ति सुध्रन्छु भन्दा सुध्रने मौका दिनुपर्ने बताए । उनले मनाङ लालकिल्ला बन्नेमा पनि विश्वास व्यक्त गरे । ‘अब मनाङ जिल्ला लाल किल्ला हुनेछ। अनि विस्तारै प्रदेशका ११ वटै जिल्ला लाल किल्ला हुनेछ।’ उनले भने, ‘कुनै व्यक्ति सुध्रन्छु भन्दा सुध्रने मौका दिनुपर्छ ।’

मनाङेसँगै विप्लव समूहका नेता पुष्प कार्की पनि नेकपा प्रवेश गरे। कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज कार्कीलाई पनि गुरुङले नै पार्टी प्रवेश गराएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।