काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारको प्रवक्ता गोकुल बाँस्कोटाले नेकपा (विप्लब समूह) माक्र्सवादी नभएर उपयोगवादी, कमाउवादी, संगठीत आतंकवादी र सामाजिक फाँसीवादी भएको आरोप लगाएका छन् ।
आज (विहिबार) मन्त्रीपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्ने क्रममा प्रवक्ता बाँस्कोटाले उक्त आरोप लगाएका हुन् । उनले विप्लब समूह वातामा आए रातो कार्पेट विछ्याएर स्वागत गर्ने पनि बताए ।
‘विप्लव माक्र्सवादी नभएर उपयोगवादी, कमाउवादी, संगठित आतंकवादी र सामाजिक फाँसीवादी हुन् ।’ बाँस्कोटाले भने, ‘ विप्लव समूहसँग कुनै पनि राजनीतिक दर्शन छैन । वार्तामा आए रातो कार्पेट बिछ्याएर स्वागत गरिन्छ।’
मन्त्री बाँस्कोटाले विप्लब समूह सर्वनाशको बाटोमा हिंडेको आरोप लगाए । ‘कुनै गोप्य ठाउँमा बसी मोबाइलमा १२ वटा सिम फेरेर व्यापारी, ठेकेदार तर्साएर यसबाट सरकार तर्सिदैँन ।’ उनले भने, ’उहाँहरू जसरी जानुभएको छ त्यो सर्वनाशको बाटो हो।’
वार्ताको बाटो छोडेर आतंककारी गतिविधि गरिरहे विनाश हुने चेतावनी समेत मन्त्री बाँस्कोटाले दिए । मन्त्री बाँस्कोटाले विप्लब समूहले वार्ता नरुचाएको आरोप समेत लगाए । ’उहाँहरूले वार्तालाई रुचाउनुभएन। अनुचित, गैर संवैधानिक काम गर्दै हिँड्नुभयो । सरकारले त्यसलाई नियन्त्रण र निस्तेज गर्न जे गर्नुपर्थ्यो त्यो गरिरहेको छ।’ उनले भने, ’हिंसात्मक र रक्तपिपासु मानसिकता पराजित भइसकेको छ ।’






















