तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका जनताले खानेपानीको अभाव झेलेको निक्कै वर्ष भईसकेको छ । अब तेमालबासीले यो समस्या धेरै झेल्नुपर्ने छैन । संघीय खानेपानी आयोजना, हेटौंडाका प्रमुख नन्दकुमार बञ्जाडेका अनुसार अब तेमालडाँडामा आगामी २०७६ साल माघ ११ गतेसम्ममा पानी आउने भएको छ ।

याङ्बेल डाँडामा निर्माणाधिन अवस्थामा रहेको २ वटा ट्यांकीमा खानेपानी माघ ११ गतेभित्र जम्मा भई वितरण ट्याङकीहरुमा पुग्ने बञ्जाडेले बताए । शुक्रबार आयोजनाको पहिलो र दोस्रो चरणको कामको अनुगमन गर्ने क्रममा संघीय सांसद गंगाबहादुर तामाङ र तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङ समक्ष उक्त प्रतिबद्धता गरेका हुन् । यस अघि निर्माण कम्पनी र सम्बन्धित सरकारी निकायलाई सांसद तामाङ र अध्यक्ष तामाङले समयमै काम सम्पन्न गर्न दबाब दिएका थिए ।

अहिलेसम्मको कामको विवरण प्रस्तुत गर्दै उनले पहिलो चरणको काम ६२ प्रतिशत र दोस्रो चरणको काम २२ प्रतिशत सम्पन्न भइसकेको बताए । ‘पहिलो चरणको काम भन्दा दोस्रो चरणको काम निक्कै नै छिटो गतिमा भइरहेको छ ।’ उनले भने, ‘पहिलो चरणको भौतिक प्रगति ६१.२ र वित्तिय प्रगति ६१.०७ छ । दोस्रो चरण २८.६१ प्रतिशत भौतिक र वित्तिय प्रगति २२ प्रतिशत काम सम्पन्न भएको छ ।’

यस्तो रहेछ प्रगति विवरण
यो अयोजनाको कूल स्टामेट लागत १ अरब २७ करोड रहेको छ । ‘सुनकोशीको समब्वाईल देखि याङबेलमा ४ । ४ लाखका २ वटा ट्यांकी बनाईसकेको छौं ।’ यो पहिलो खण्डको काम अन्तर्गत हो ।’ बञ्जाडेले भने, २३ वटा वितरण ट्यांकी निर्माणाधिन अवस्थामा रहेको छ । यो ट्यांकी ४० हजार लिटरदेखि २ लाख लिटरसम्मको हुनेछ । यो दोस्रो चरणको काम अन्तर्गत हो ।’
यो आयोजनाको पहिलो संझौता २०७३ साल बैशाख २६ गते भएको थियो भने दोस्रो प्याकेजको २०७५ साल असार २४ गते भएको थियो । ‘पहिलो प्याकेजको काम २०७५ सालको असार मसन्तमा सकिनुपर्ने छ ।’ उनले भने, ‘दोस्रो ०७७ साल मंसिर २१ गतेसम्ममा सबै घरघरमा पानी वितरण गरिसक्ने छ । यो आयोजना अन्तर्गत सुनकाशीको पानी प्रति सेकेन्ड २० लिटर पम्पीङ गर्ने छ ।

यो आयोजनामा प्रतिदिने १७ लाख लिटर खानेपानी वितरण हुनेछ । हालको तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाको केही वडा यो आयोजनाको कार्यक्षेत्र भित्र पर्छ । खानेपानी प्रभावित क्षेत्रमा ९ हजार ३ सय घरधुरी रहेको छ । ‘२० वर्षसम्मका जनसंख्यालाई पुग्ने गरि स्टामेट गरेका छौं ।’ आयोजना प्रमुख बञ्जाडेले भने, ‘एक दिनमा ६५ लिटर प्रति व्यक्ति पानी वितरण गर्छौं ।’

अनुगमनमा संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज), जिल्ला समन्वय समिती, काभ्रेका प्रमुख उद्धब केसी, संघिय खानेपानी आयोजना प्रमुख नन्द कुमार बन्जाडे, तेमाल गाउपालिका अध्यक्ष सलाम सिं तामाङ, डिभिजनल इन्जिनियर मोहन कुमार जैसी, निर्माण पक्ष सीएबी कन्स्ट्रक्शन प्रालिका निर्देशक बसन्त चन्द, उपभोक्ता समितिका अध्यक्ष संग्राम सिं लामा, नेकपा नेता इन्द्रबहादुर तामाङ लगायतका सहभागी रहेका थिए ।






















