सिन्धुली । नेपाल पत्रकार महासंघका जिल्ला अध्यष राजन कार्की र पूर्व जिल्ला अध्यक्ष मिनकुमार दाहाल माथि प्रहरीले संघातिक आक्रमण गरि शख्त घाइते बनाएको छ ।
सार्वजनिक स्थलमा प्रहरी हलल्दार र प्रहरी जवानले मापसे गर्दै गरेको अवस्थामा पत्रकारद्वय कार्की र दाहालले फोटो खिचेको निहुँमा शनिबार राती ९ बजे यसरी आक्रमण गरेको बुझिएको छ ।
प्रहरीको आक्रमणबाट महासंघका अध्यक्ष कार्की बेहोस भएका छन् भने पूर्व अध्यक्ष दाहाल सामान्य घाइते अवस्थामा छन् । कार्कीको टाउकोमा गहिरो चोट पुगेको र बेहोस अवस्थामा रहेकोले सिन्धुलि अस्पलतामा उपचार गर्न नसकी काठमाडौं रिफर गरिएको छ ।
सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमका अनुसार घटनामा घाइते कार्कीको टाउको फुलेको छ भने नाकको नाथ्री पनि फुटेको छ । ‘टाउको धेरै सुन्निएको हुनाले हामीले उहाँलाई यहाँ प्राथमिक उपचार मात्र गरेर थप उपचारका लागि काठमाडौं रिफर गरेका हौ ।’
यता हातपात घटनामा घाइते भएका दाहालको भने कम्मरमा चोट लागेको छ । अहिले घटनामा आरोपित प्रहरीका हवल्दार र जवानलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ प्रक्रिया अगाडि बढाएको जनाएको छ । पत्रकार महासंघका पुर्ब सभापति संजय दाहाल र सिन्धुलीका अन्य पत्रकारहरु अहिले दोषीलाई कारबाहिको माग गर्दै जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा पुगेका छन् ।