काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले तामाङ महिलाकोबारेमा आफूले दिएको अभिव्यक्तिकोबारेमा स्पष्टीकरण दिएका छन् । पार्टीको गत २१ गते बसेको संसदीय दलको बैठकमा यो विषयमा कुरा उठेपछि अध्यक्ष प्रचण्डले स्पष्टीकरण दिएका हुन् ।

संसदीय दलको बैठकमा सांसद शान्ति पाख्रीनले तामाङ महिलाकोबारेमा चितवनको भरतपुरमा उनले बोलेको तामाङ महिला सम्बन्धी विषयलाई उठाएका थिए । अध्यक्ष प्रचण्डले आफू माथि लागेको आरोप प्रति दुःख व्यक्त गर्दै तामाङ महिलाको ईज्जत र प्रतिष्ठाको पक्षमा आफूले बोलेको स्पष्ट पारे । उनले आफूले बोलेको प्रसंगलाई तोडमोड गरेर प्रचार गरेको प्रति दुःख व्यक्त गरे ।

अध्यक्ष प्रचण्डको जवाफको पूर्णपाठ

माननीय शान्ति पाख्रिन जीले एउटा प्रश्न उठाएको हुनाले एउटा प्रश्नको बारेमा मात्रै प्रष्ट पार्न खोजेको हो मैले, बाँकी कुरा प्रधानमन्त्री जी ले राख्नु हुनेछ ।

त्यो विषय जसरी मिडियामा या प्रचार भयो, विषय त्यस्तो होइन र थिएन । मैले नेपालमा शान्ति सम्झौता गरेर संविधान निर्माण प्रक्रियामा पार्टीलाई लिएर आउने कुरालाई हिजो एउटा प्रसंगमा पार्टी भित्र छलफल चल्दा एकजना कमरेडले त्यतिबेला मलाई लगाको आरोप हो त्यो ।

‘नुवाकोटको एउटा तामाङनी महिलालाई झुक्याएर फकाएर काठमाडौं लगेर विवाह गर्छु भनेर काठमाडौं ल्याउने भनेर ल्याएको तर पु¥यायो बम्बइ’ भन्ने आरोप म माथि लागेको आरोप हो । र मैले के भन्यो भने ‘मैले त्यसो गरेको छैन । मैले पार्टीलाई शान्ति सम्झौतामा ल्याएर संविधान सभामा ल्याएर, नुवाकोटको महिलालाई फकाएर कतै बम्बई पु¥याएको जस्तो काम होइन, मैले त बरु सवैलाई काठमाडौंमा ल्याएको छु’ भनेर मैले दिएको प्रति उत्तरको कुरा गरेको हो ।

त्यसकारण मैले त बरु तामाङ महिलाको इज्जत प्रतिष्ठाको पक्षमा पो बोलेको हो मैले । म माथि आरोप लगाउनेले पो बरु ‘नुवाकोटको महिला’ भनेर त्यो आरोप लगाएको हो । तर मैले त्यो कुरा भन्दा त्यसलाई कुन ढंगले लियो, मानौं मैले तामाङ महिलालाई बम्बई पु¥याउन खोजेको भन्या जस्तो गरी दुष्प्रचार गरियो । त्यो गलत हो ।

माननीय सदस्यलाई पनि के हो भन्ने परेको रहेछ । त्यो विल्कुल गलत कुरा हो । मैले त्यहाँ जोड दिएर पनि बोलेको थिएँ, ‘मैले त सवैलाई काठमाडौंमै ल्याएको छु भनेको शान्ति सम्झौतामा ल्याएर मैले गल्ती गरेको छैन ।’ त्यसो गरेर त मैले सवै महिलाको सम्मान नै गरेको छु भनेको हो मैले । त्यसलाई त्यो कुरा प्रसंगलाई अलि तोडमोड गरेर प्रचार भयो ।

मलाई दुःख लागेको छ । माननीय सदस्यले यहाँ त्यति उठाई दिनु भएर मैले प्रष्ट पार्ने मौका पाए धन्यवाद । म अहिले यति मात्रै राख्छु ।

भिडियोः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।