तेमाल । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ मा क्यानोनिङ खेल परिक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ र उपाध्यक्ष दुर्गामाया तामाङको सहभागीतामा उक्त खेलको परिक्षण गरिएको हो । खेलको परिक्षण वडा नम्बर ६, ठूलोपर्सेलमा रहेको बन्दीबा खोलाको टाङटुङ झर्नामा परीक्षण गरिएको थियो ।
गाइडको सहयोगमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्वय तामाङले टाङटुङ झर्नामा क्यानोनिङ खेलको मज्जा लिएका थिए । क्यानोनिङ तेमाल भेगमा पर्यटनहरुका लागि अर्को महत्वपूर्ण पाटोको रुपमा लिइएको छ ।

तेमालको पर्यटन विकासमा क्यानोनिङ खेलले महत्वपूर्ण भूमिका खेल्ने तेमाल गाउँपालिकाका तामाङले बताए । ‘गाउँपालिकामा रहेको प्राकृतिक सौन्दर्यलाई देश तथा विदेशमा चिनाउन क्यानोनिङ सफल भएको छ ।’ तामाङले भने, ‘यसलाई अझ प्रभावकारी बनाउन प्रचारप्रसारको खाँचो छ, हामी त्यता तिर लाग्छौँ ।’
गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले यहाँका युवालाई तालिम दिएर दक्ष बनायौँ भने यहीँका मानिसले रोजगार पाउँने भएकोले तालिमको व्यवस्था गर्ने गरि कार्यक्रम नै बनाउन लागेको जानकारी दिए । ‘यो खेललाई व्यवस्थित बनायो भने तेमालमा आउने पैसा अन्यत्र जादैँन ।’ उनले भनिन, ‘हामी कसरी हुन्छ तेमाललाई समृद्ध बनाउने अभियानमा छौँ ।’ तेमालमा साँस्कृतिक पर्यटनसँगै क्यानोनिङ खेललाई पनि प्रवद्र्धन गरेर अघि बढ्दा स्थानीयहरुको आयआर्जनमा समेत बृद्धि हुने उनले बताइन् ।

वडा नम्बर ६ का वडाध्यक्ष बिकु लाल मोक्तानले वडाको मात्रै नभएर सिँगो तेमाल भेगकै पर्यटनलाई क्यानोनिङले जोडेको बताए । उनले परीक्षणका लागि १ लाख रुपैयाँ विनियोजन गरेको समेत बताए । ‘टाङटुङ झर्नालाई हामीले सहासिक खेलका रुपमा विकास गर्न खोजेको हौ, उनले भने सफल पनि भयो, अब यसलाई थप ब्यवस्थित योजना बनाएर अघि बढ्ने छौँ ।’
क्यानोनिङ परीक्षणमा ४२ जनाले सहभागिता जनाएका थिए । तेमालमा क्यानोनिङको परीक्षण गर्न प्रशिक्षक रत्नमान तामाङको टोली पुगेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















