रामेछाप ! सुनापति गाउँपालिका वडा न. ३, खोट्पस्वाँरा, हिलेदेवीमा रहेको श्री जन जागृत माध्यमिक विद्यालयले पुस्तकालय उद्घाटन कार्यक्रममा शिक्षक-विद्यार्थी सम्मान गरेको छ। पुस्तकालय उद्घाटनसँगसँगै अवकाशप्राप्त शिक्षक एक बहादुर नेपाली, दिल बहादुर पाण्डे, टेक बहादुर पाण्डे र एसईई – २०७५ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राजिब मोक्तान तामाङ सभापति रहेको कार्यक्रम गाउँपालिका अध्यक्ष धावा लामाको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौला, ३ नं वडाका अध्यक्ष बाबुराम तामाङ, विभिन्न संघ-संस्थाका प्रतिनिधि, स्थानीय समाजसेवीको बाक्लो उपस्थिति थियो।
उक्त कार्यक्रममा बोल्दै धावा लामाले शिक्षा अंग्रेजी माध्यमबाट पठनपाठन गरेर मात्र शिक्षाको गुणस्तरमा वृद्धि नहुने बताउँदै आ. व. २०७६/७७ बाट शिक्षा क्षेत्र विशेष प्राथमिकतामा राखेर पालिकाले बजेट विनियोजन गरेको हुँदा त्यसलाई कार्यन्वयन गर्न सबै वर्गलाई एकजुट भएर लागिपर्न आव्हान गरेका थिए ।
त्यसैगरी अभिभावकले जे गर्छ, बालबच्चाले समेत त्यही सिक्ने हुँदा यो कुरामा बिशेष ध्यान दिन अभिभावकवर्गलाई उपाध्यक्ष विष्टको अनुरोध थियो । साथै प्रमुख प्रशासकीय अधिकृत निरौलाले विध्यालय सुधार गर्न कुनै एक पक्ष मात्र नभएर सम्पुर्ण सरोकार निकाय , शिक्षक, अभिभावक र विध्यार्थी लागिपरेमा विद्यालय सुधार सम्भव रहको बताए ।

पुस्तकालय पुस्तक राख्न मात्र नभएर यसको सहि सदुपयोग हुनु पर्नेमा समेत जोड दिदैँ यस्तो कार्यक्रमले शिक्षक, अभिभावक र विद्यार्थी सबैमा पढ्ने बानीको विकास हुने वडाध्यक्ष बाबुराम तामाङ बताउँछन् । साथै कार्यक्रममा उपस्थित समाजसेवीहरुले विद्यालय सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
वक्ताहरुले हरेक काम गर्दा बिरोध मात्र नभएर राम्रो कामको प्रचार गर्न समेत अनुरोध गरेका थिए । अनाहकमा जुनसुकै बेला बिरोध गर्दा काम गर्नेहरु निरुत्साहित हुने हुँदा शैक्षिक वातावरण बिग्रने बताउँदै टिप्पणी गर्दा समालोचनात्मक ढङ्गले गर्नु पर्नेमा समेत जोड दिएका छन्।
शिक्षकले पढाउने नभएर सिकाउने वातावरण बनाउनु पर्ने र त्यसमा अभिभावक एवं सरोकारवाला निकायले साथ दिनु पर्नेमा अभिभावकहरुको जोड थियो ।
तस्वीर : लक्ष्मी थापा मगर
खेन्पो तेन्डु ग्याल्छो रेन्पोछे ज्यूको मुखरा विन्दबाट धार्मिक प्रवचन र आचार्य थुप्तेन देलेक तामाङबाट नेपालीमा अनुवाद






















