अञ्जली तामाङ
बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिकाको पाँचौं नगरसभाले आर्थिक वर्ष २०७६÷२०७७ को नीति तथा कार्यक्रम र बजेट पास गरेको छ ।  नगर सभामा नगरप्रमुख लक्ष्मी नरसिं बादेले नीति तथा कार्याक्रम र उपप्रमुख रेखा सापकोटा दाहालले बजेट प्रस्तुत गरेका थिए ।
नगर सभाले आगामी आर्थिक वर्षमा गौरवका कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिएको छ । ‘म बनाउँछु मेरो बनेपा’, ‘मेयर पर्यटन प्रर्वद्धन कार्यक्रम’, मेयर उत्कृष्ट शैक्षिक पदक, महिलासँग उपमेयर, प्रत्येक वडामा जेष्ठ नागरिक आराम तथा भेटघाट गृह निर्माण, प्राङ्गारिक उपजको प्रयोग गरौं, मेयर कप फुटबल, ‘जनतासँग मेयर’ जस्ता कार्यक्रम पास गरेको छ ।

यस्तो छ बनेपाको बजेट
उपप्रमुख रेखा सापकोटाले आगामी आर्थिक वर्ष २०७६।०७७ का लागि कुल ८८ करोड ६२ लाख ८७ हजारको बजेट प्रस्तुत गरेकी छिन् । कुल आयमा आन्तरिक आय ११ करोड ८८ लाख ७० हजार अनुमान गरिएको छ भने बाह्य स्रोतबाट ७६ करोड ७४ लाख १७ हजार अनुमान गरिएको छ ।
जस मध्ये वित्तीय समानिकरण अनुदान १६ करोड ४३ लाख, राजस्व बाँडफाँडबाट ९ करोड ९१ लाख, सशर्तत अनुदान २३ करोड १३ लाख, सामाजिक सुरक्षा तर्फ १० करोड र तरकारी तथा फलफूल मूल्य श्रृङ्खलामा २२ लाख समेत गरी नेपाल सरकारबाट ५९ करोड ६९ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तर्फ वित्तीय समानिकरणबाट रु. १ करोड ८ लाख २३ हजार, राजस्व बा“डबा“डबाट २ करोड ९६ लाख ९४ हजार, सशर्त अनुदान १ करोड र समपुरक अनुदान ३ करोड गरी प्रदेश सरकारबाट जम्मा रु. ८ करोड ५ लाख १७ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
जिल्ला समन्वय समिति कोष तर्फबाट रु. २ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको छ । सडकबोर्ड नेपालबाट रु. ६० लाख र मौज्दात रकम रु. ५ करोड ७० लाख हुने अनुमान गरिएको छ ।
पूँजीगत खर्च तर्फ औजार उपकरण तथा मर्मत पूँजीगत रु. १ करोड ७५ लाख विनियोजन गरिएको छ । वडा स्तरीय योजना तर्फ कुल रु. ५ करोड ६० लाख विनियोजन गरिएको छ ।

विषयगत क्षेत्र पूँजीगत तर्फ आर्थिक विकास अन्तर्गत खानेपानी तथा सरसफाईमा ५३ लाख, कृषि विकासमा ७४ लाख, पशुपन्छी विकासमा ४१ लाख, उद्योग विकासमा ३० लाख, सहकारी प्रबर्धनमा रु. १० लाख र पर्यटन प्रबर्धन पूर्वाधार विकासमा २० लाख गरी आर्थिक विकास अन्तर्गत कुल रु. १ करोड ७५ लाख विनियोजन गरिएको छ ।
सामाजिक विकास तर्फ शक्षा तर्फ ८३ लाख ३५ हजार, संस्कृति संरक्षण तर्फ रु. ७६ लाख पचास हजार, स्वास्थ्य तर्फ रु. ८६ लाख, युवा तथा खेलकुद तर्फ रु. २० लाख, महिला, बालबालिका तथा अपाड्ड क्षमता अभिवृद्धि कार्यक्रम तर्फ रु. २० लाख, जनजाती क्षमता अभिवृद्धि कार्यक्रम तर्फ रु. ७ लाख र दलित क्षमता अभिवृद्धि कार्यक्रम तर्फ रु. १० लाख समेत गरी सामाजिक विकास तर्फ कुल रु. ३ करोड ५५ लाख ८५ हजार विनियोजन गरिएको छ ।
पूर्वाधार विकास तर्फ नगर स्तरीय योजनाका लागि रु. ८ करोड २८ लाख, बैकल्पिक उर्जा तर्फ रु. ११ लाख, भवन आवास तथा शहरी विकासमा रु. २० लाख गरी पूर्वाधार विकास तर्फ रु. ८ करोड उनान्साठी लाख विनियोजन गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापन तर्फ कुल रु. ७५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ५ लाख विनियोजन गरिएको छ । नगर स्तरीय मागमा अधारित योजना तर्फ १ करोड ४० लाख विनियोजन गरिएको छ । सडक बोर्ड तर्फ रु. ९० लाख विनियोजन गरिएको छ । समाजिक सुरक्षा कार्यक्रम तर्फ १० करोड विनियोजन गरिएको छ । प्रदेश समपुरक अनुदान तर्फ रु. ६ करोड विनियोजन गरिएको छ ।
जिल्ला समन्वय समिति कोष मार्फत प्राप्त हुने कार्यक्रमका लागि रु. ५ करोड ५ लाख विनियोजन गरिएको छ । सशर्त अनुदान तर्फका कार्यक्रमका लागि रु. २४ करोड १३ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनमा रु १ करोड ९ लाख ९४ हजार विनियोजन गरिएको छ ।
काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा सभा बहिष्कार
नगरसभामा प्रस्तुत भएको बजेट प्रति असन्तुष्ट जनाउँदै नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर सभा बहिष्कार गरेका छन् ।
नेपाली काँग्रेसले जितेका वडामा कम बजेट विनियोजन गरेको आरोप लगाउँदै उनीहरुले सभा बहिष्कार गरेको वडा नंं. २ का वडा अध्यक्ष हरिशरण घिमिरेले बताए । ‘कार्यपालिकाको आइतबार भएको बैठकमा ‘सहमतिमा बजेट बाँडफाँड गरौं भनेका थियौं ।’ वडा अध्यक्ष घिमिरेले भने, ‘उहाँहरुले तयार पारेको बजेटमा एक अक्षर पनि तलमाथि नहुने भनेपछि हामीले नगरसभा बहिष्कार गरेका हौं ।’
यता नगर प्रमुख लक्ष्मीनरसिं बादेले भने वडा अध्यक्षहरुकै सिफारिस अनुसार बजेट बिनियोजन गरेको बताएका छन् । ‘नीति तथा कार्यक्रममा उपस्थित भई सर्वसम्वत पास गरी वडा अध्यक्षहरुले सिफारिस गरेका वडागत योजनामा समेत भाग लिई जस्ताको तस्तै योजना छनौट गरिएको छ ।’ नगर प्रमुख लक्ष्मीनरसिं बादेले भने, ‘दुईवटा बैठकमा उपस्थित भएर तेश्रो बैठकमा उहाँहरु अनुपस्थित रहनु भयो । योजना छनौट उहाँहरुकै सिफारिसका आधारमा गरिएको छ ।’ नगर स्तरीय योजना भुगोल, जनसंख्याका आधारमा प्रदेश र संघ सरकारबाट विनियोजन गरेको रकममा नदोहोरिने गरी मिलाईएको बादेले बताए ।