काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ की पहिरोमा परि मृत्यु भएकी कृष्णदेवी रायमाझीको परिवारले राहत पाएका छन् । माम्तीमा रहेको भिमेश्वर माविको पर्खाल खस्दा रायमाझीको घरमा परेर उनको मृत्यु भएको थियो ।

आज (सोमबार) मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारी उदय रानामगर ज्यु रु. १ लाख रुपैयाँँ नगद हस्तान्तरण गरेका छन् । त्यसैगरि पिडितलाई रोशी गाउपालिका अध्यक्ष डि.बि. लामाले रु. १५ हजार सहित खाधान्न सामाग्री हस्तान्तरण गरेका छन् भने नेपाल रेडक्रस काभ्रेका सभापति रघुबर चौप्रधानले समेत रु. ५ हजार सहित फेमली किट वितरण गरेका थिए ।

रोशी गाउँपालिका र यस खण्डमा परेको विपि राजमार्गको अवलोकन गर्न रोशीगाउँपालिकाका अध्यक्ष लामाको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी राणामगर, प्रहरी उपरीक्षक बेनुप्रसाद पाठक, प्रमुख अनुसन्धान अधिकृत सरोज निरौला, नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति रघुबर चौप्रधानको टोली पुगेका थिए ।

अविरल वर्षाका कारण जताततै बाढी पहिरो गएपछि विपि राजमार्ग नै अबरुद्ध भएको थियो । अबरोधलाई पन्छाउन समेत अवलोकन टोली त्यहाँ पुगेका थिए । बाटो खुलाउने क्रम जारी रहेको बुझिएको छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।