दाङ । जिल्लाको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले छिमेकी नौ वर्षीय बालकको कानको जाली फुट्ने गरि कुटेका छन् । आफ्नो घरको आँगनमा रहेको फूले टिपेको आरोपमा वडा अध्यक्ष सार्कीले भरत घर्तीलाई यसरी कुटेका हुन् ।
बालक घर्तीको उनको कुटाईबाट बायाँ गालामा नीलडाम समेत भएको छ । बुधबार गाउँमा साउने संक्रान्तिको लुतो फाल्ने कार्यक्रम चल्दै गर्दा अन्य केटाकेटीसँगै खेल्दै हिँडेका बालकलाई वडाध्यक्ष सार्कीले यसरी कुटेपछि विवादमा तानिकएको छ ।
भरतकी आमा रेवता घर्तीका अनुसार उनको बायाँ कान र पेटमा समेत चोट लागेको बताएकी छिन् । वडाध्यक्ष सार्कीले भने भरतलाई कुटेको स्विकारे पनि कानमा नभई टाउकोमा हल्का हिर्काएको उनको दाबी छ । बालक भरतले भने आफूले वडाध्यक्षको आँगनको फूल नै नटिपेको बताएका छन् ।
रातभर कान दुखेर छटपटाएपछि छोरालाई बिहीबार बिहान अस्पताल लगेको रेवताले बताइन् । बालकको घोराही नयाँ बजारस्थित ‘नयाँ बजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टर’मा लगेकी थिइन् । भरतले कान नै सुन्न छाडेको उनको भनाइ छ । छोरो कुटिएपछि रेवताले वडाध्यक्ष सार्की विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएकी छिन् ।

Comments

comments