‘आए हुन्छ विप्लब राष्ट्रपनि बन्न’ –प्रवक्ता बाँसकोटा
बनेपा । नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रतिबन्धित नेकपाका नेता विप्लबलाई राष्ट्रपति बन्नका लागि आउन आव्हान गरेका छन् । काभ्रे उद्योग बाणिज्य संघको २० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आज (शनिबार) मन्त्री बाँस्कोटाले उक्त आव्हान गरेका हुन् ।
कार्यक्रममा प्रवक्ता बाँस्कोटाले सरकार कुनै पनि हालतमा कमजोर नभएको तर्क समेत पेश गर्दै १० वर्षसम्म चलेको द्वन्द्व पनि समाप्त भएको बताए । ज्ञानेन्द्रको बन्दुक र प्रचण्डको बन्दुक दुवैलाई हातबाट झारेको इतिहास रहेको बाँस्कोटाले तर्क गरे ।‘आए हुन्छ बिप्लव राष्ट्रपति बन्न । कसले छेकेको छ ? आएन भने कमजोर छैन सरकार ।’ उनले भने, ‘ज्ञानेन्द्रको बन्दुक पनि झा¥यौं, प्रचण्डको बन्दुक पनि झा¥यौं । १० बर्षमै समाप्त भको होइन ?’
विप्लबलाई एक रुपैयाँ चन्द नदिनु
मन्त्री बाँस्कोटाले विप्लब समूहलाई एक रुपैयाँ पनि चन्द नदिन अनुरोध गरे । उसको प्रतिकार गर्ने जिम्मा सरकारको मात्र नभई व्यवसायीहरुको समेत रहेको उनले बताए । चन्दको लागि विप्लबको धम्की आए सडकमा सरकारको मात्र विरोध किन गर्ने भन्ने प्रश्न गर्दै विप्लबको विरुद्धमा सडकमा जान व्यवसायीहरुलाई उनले अनुरोध गरे ।
‘विप्लब समूहलाई एक रुपियाँ पैसा नदिनु । धम्की दिए सडकमा जानुहोस । सरकारले मात्र सुरक्षा दिनुपर्ने ?’ उनले भने, ‘बन्दुक किन्ने पैसा तपाईं आफै दिने अनि धम्की न आए के आउँछ त ?’
पत्रकार चाहिं ‘श्री ५’ हो र ?
पत्रकारलाई चाहिं कानून नै नलाग्ने व्यवस्था कहीं पनि नभएको बताउँदै मन्त्री बाँस्कोटाले पत्रकार ‘श्री ५’ नभएको बताए । ‘पत्रकार चाहिँ श्री ५ हो र ? म नि त्यहीबाट आएको हुँ ।’ उनले भने, ‘मिडिया विधेकको बिरुद्ध लालटिन जुलुस गरे । अहिले कुरा बुझेछ आन्दोलन फिर्ता लियो ।’