बनेपा । काभ्रे जिल्ला धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले ‘काभ्रेको ‘विजिनेस प्लान’ अहिलेसम्म नबनेकोमा दुःख व्यक्त गरे । काभ्रे उद्योग बाणिज्य संघको २० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख ब्याञ्जुले उक्त कुरा बताएका हुन् ।
‘काभ्रेलाई बनाउने हो भने सबैभन्दा पहिला ‘काभ्रेको ‘विजिनेस प्लान’ निर्माण गर्नुपर्छ ।’ ब्याञ्जुले भने, ‘काभ्रेको बिजिनेस प्लान अहिलेसम्म छैन ।’ यसको नेतृत्व काभ्रे उद्योग बाणिज्य संघले गर्नुपर्नेमा उनले जोड दिए ।
व्याञ्जुले काभ्रेमा एकीकृत योजना बनाए मात्र कस्तो काभ्रे बनाउने भन्ने कुराको निर्धारण हुने बताए । ‘हरेक क्षेत्रमा काभ्रे जिल्ला अगाडि बढी नै सकेको छ । कृषि र व्यावसायिक रुपमा काभ्रे अगाडि बढिरहेको छ ।’ उनले भने, ‘एकीकृत योजना बनायांै भने मात्र अबको दिनमा कस्तो काभ्रे बनाउने भन्ने कुराको निर्धारण हुन्छ ।’ बनेपा धुलिखेल र पनौतिलाई स्मार्ट सिटि बनाउने योजना अघि बढिरहेको बताउँदै उनले योजना र लगानी गर्न व्यवसायीहरुलाई अनुरोध गरे ।






















