काठमाडौं । शनिबार मध्यराति काठमाडौंस्थित काँडाघारीबाट पक्राउ परेका नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा केन्द्रीय सदस्य माइला लामालाई प्रहरीले अदालतमा पु¥याएको छ । आज (सोमबार) लामालाई प्रहरीले ललितपुर जिल्ला अदालतमा पेश गरेको हो ।
जिल्ला अदालतमा लामाविरूद्ध राज्यविरूद्धको अपराध, हातहतियार तथा खरखजना र कर्तव्य ज्यान मुद्दा दर्ता भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । लामालाई एसएसपी थापाको टोलीले पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो ।
लामालाई ललितपुरस्थित नख्खु एनसेल कार्यालयमा भएको बम विस्फोट, वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा भएको बम विस्फोटलगायत पछिल्लो बम विस्फोटका घटनालाई आधार बनाई मुद्दा चलाइएको एसएसपी थापाले जानकारी दिए । लामाको बयान नसकिएपछि मंगलबार पनि हुने भएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काँडाघारीस्थित डोलेन्द्र भट्टराईको घरमा सुतिरहेकै अवस्थामा घेरा हाली लामालाई पक्राउ गरेको थियो । उपत्यका ब्युरो इन्चार्जसमेत रहेका लामा पक्राउ पर्नेमा पार्टीको तेस्रो शीर्ष नेतामा पर्छन् । उनी माओवादीले सञ्चालन गरेको जनयुद्धमा साँस्कृतिक फाँटको नेतृत्वमा थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















