काभ्रे । ठेकेदारको लापरवाहीले गर्दा स्थानीय सरकारलाई हस्तान्तरण गर्नु अगावै रोशी बल्थली पुल भाँचिएको छ । पुरुवा माटोमाथी पुल निर्माण गर्दा सो पुलको वारी र पारी नै भाँचिएको छ ।
पनौती नगरापालिका वडा नं. १० र ११ लाई जोड्ने पुल सैलुङ÷बन्दना भगवती जेभी निर्माण कम्पनीको लापरवाहीले गर्दा दुवै छेउमा भाँचिएको स्थानीयको गुनासो छ । ४ करोड ४ लाख ५८ हजार रुपैयाँ रकममा निर्माण भएको उक्त पुलमा सवारीसाधन गुड्न नपाउँदै भाँचिएको हो ।
संघीय सरकारको पुल सडक कार्यक्रम अन्तर्गत निर्माण भएको सो पुलको प्राविधिक सहयोग स्वीस सरकारको रहेको थियो । सो पुलको प्रयोग गरी पनौती नगरपालिका वडा नंं. ११ बल्थली, बेथानचोक गाउँपालिकाको भुग्देउ, रोशी याउँपालिकाको महादेवटार, नमोबुद्ध नगरपालिकाको केही वडाले समेत प्रयोग गर्नेछ ।
सुनथान, साल्मिटार बल्थली सडकमा रहेको सो रोशी बल्थली पुल ठेकेदारको लापरवाहिले गर्दा भाचिएको पनौती नगरपालिका वाड नं. ११ का वडाध्यक्ष तारामान तामाङले बताएका छन् । ठेकेदारले पुलको वारी र पारी नै पुरुवा माटोमाथी निर्माण गरेकोले भासिएर पल भाँचिएको पनि वडाध्यक्ष तामाङले बताए । उनीहरूले बजेट सकाउने र स्थानीयको आँखामा छारो हाल्ने काम मात्र गरेको पनि उनको भनाई छ । काम गरेपछि पक्का गर्नु पर्ने र दिगो गर्नु पर्ने तामाङले बताए । पनौती नगरपालिकाका मेयर भिम न्यौपानेलाई पनि बोलाएर देखाईसकेको र मन्त्रालयमा जानकारी गरीसकेको उनले बताए ।
‘यो सिधै ठेकेदारको लापरवाहीले गर्दा पुल भाँचिएको हो, जनताको आँखामा छारो हाल्ने तरिकाले पुलको वारीपारी दुवै तिर पुरुवा माटोमा अड्याएको देखियो । त्यही कारणले भाचिएको हुनसक्छ ।’ वडाध्यक्ष तामाङले भने, ‘हामीले पनौती नगरपालिकाका मेयर सापलाई पनि बोलाएर देखाई सकेका छौँ ।’ आफूले मन्त्रालयमा पनि जानकारी गराएको उनले बताए ।
आफूहरुले उपभोग गर्नु पर्ने पुल बनाउँदा ठेकेदारले चरम लापरवाही गरेको स्थानीय रामप्यारी केसीले बताईन् । आफुले पहिला पनि पटक पटक पुल निर्माणमा लापरवाही भो भनेर भन्दा ठेकेदारको मान्छेले पुलको डिजाईननै यस्तै छ भन्ने गरेको उनले बताईन् । पुल बनाएको पहिला देखिनै मन नपरेको र नपर्दा नपर्दै भाचिएको पनि केसीले बताईन् । ‘मैले पहिला नै भनेको थियो पुल बनाएको भएन फुक्को माटोमा यसरी स्ल्याप राख्न भएन भन्दा बनाउने मान्छेले डिजाईनमै यस्तै छ भन्दै बनाए ।, मलाई मन परेको थिएन, मन नपर्दा नपर्दै भाचियो ।’ उनले भनिन् ।
सो पुलको काम हुँदाहुदै फिलिङ राम्रो भएन भनेर सुझाएको पूर्वाधार विकास कार्यालय काभ्रेको इञ्जिनीयर चन्द्र भट्टले जानकारी दिए । निर्माण कम्पनीलाई जानकारी गराउँदा गराउँदा पनि अटेर गरी काम गरेका कारण भाँचिएको भट्टले बताए । ‘हामीले पहिला पनि भनेका थियौँ फिलिङ राम्रो भएन भनेर तर मान्नु भएन अहिले यस्तो भयो ।’ इञ्जिनीयर भट्टले भने, ‘निर्माण सम्पन्न भएपछि पनि एक बर्षसम्म मर्मत सम्भार गर्ने जिम्मा निर्माण कम्पनीको हुने सम्झौता छ, त्यसकारण हामीले चिठी पठाईसकेका छौँ, उनीहरूले मर्मत गर्ने जवाफ रहेको छ ।’
पुल निर्माण कम्पनीको सदस्य बिनोद रुपाखेतीका अनुसार पुलको छेउ छेउमा एप्रोस्ल्याप साँढे ३ मिटरको हुने र माटो फिलिङ गरेरै राख्ने भएकाले बर्षाका कारण भल पसेर भासिएको पनि रुपाखेतीले जानकारी दिए । त्यो आफुहरूले मर्मत गर्ने पनि बताए । उनले सवै डिटेलमा बोल्न चाहेन र पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीसँगै बुझ्नु भन्दै ठेकेदारको निर्माण कम्पनीको नाम समेत भन्न चाहेनन् ।
उक्त कम्पनीले साढे ३५ मिटर पुल सहित वडा नं. ११ तर्फ २ मिटर सडक र वडा नं. १० तर्फ ३ मिटर सडक निर्माण गर्नु पर्ने सम्झौता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















