काठमाडौं । यतिखेर सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा) भित्र स्कुलीङ विभागको जिम्मेवारी कुन नेताले लिने भन्ने विषयमा चर्को विवाद भएको छ । विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा यसको चर्चा परिचर्चा भइरहेको छ ।
नेकपाका नेताद्वय नारायकाजी श्रेष्ठ र ईश्वर पोख्रेलले यो विभागको नतृत्व गर्ने दावी गरिरहेका छन् । यो विवादकै कारण पार्टीको मंगलबार बस्ने भनिएको बैठक समेत बस्ने सकेन । आखिर यो विभागको काम के होला त भन्ने आम चासोको विषय बनेको छ ।
पार्टी नयमावलीमा स्कुल विभागको जिम्मेवारी यस्तो छ
पार्टी नियमावली २०७५ मा स्कूल विभागका जिम्मेवारीलाई आठ बुँदामा उल्लेख गरिएको छ ।नियमावलीमा भनिएको छ, ‘पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अनुरुप आफ्नो तहमा नियमित वा आवधिक पार्टी स्कूल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी आफ्नो तहको पार्टी कमिटी समक्ष प्रस्तुत गर्ने ।’
यस्तै यो विभागले पार्टी सदस्यहरूको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण गर्ने र त्यसलाई कार्यान्वय गर्ने नियमावलीमा उल्लेख छ । त्यहाँ थप बुँदामा भनिएको छ, ‘पार्टी स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार गर्ने । पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने ।’
यस्तै यो विभागले प्रशिक्षण कार्यक्रमको मूल्यांकन गर्ने, प्रशिक्षार्थीहरूको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख पनि राख्नेछ । त्यसबाहेक स्वदेश तथा विदेशका पार्टी स्कुलहरूसँग अनुभव आदान–प्रदान गर्ने र पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यहरूलाई विशेष प्रशिक्षणको व्यवस्था गर्नुपर्ने छ । त्यसबाहेक सम्बन्धित कमिटीले तोकेका अन्य काम पनि गर्ने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















