काठमाडौँ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समाजवादी पार्टी, नेपाल सङ्घीयताका लागि भएको मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतको आन्दोलनको मात्र नभई दशवर्षे जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी पनि भएको बताए । उनले उक्त कुरा यहि आइतवार काठमाडौँको खुसिबुँमा भएको अन्तक्र्रिया कार्यक्रममा बताएको हो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धको उतर्राद्धमा उठाएका पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरण, वर्गीय मुक्ति, समानता, स्वतन्त्रता तथा सबैखाले विभेद र असमानताको अन्त्य जस्ता युगान्तकारी परिवर्तनका प्रगतिशील मुद्धाहरु नेकपामा विसर्जन गरेको बताउँदै समाजवादी पार्टीले ती सबै मुद्दाहरूलाई नयाँ परिस्थितिमा समय सापेक्ष ढंगले उठाएको बताए ।
विचार सफ्टवेयर, सङ्गठन हार्डवेयर
पार्टीका एक विचारक नेताको रूपमा परिचित नेता श्रेष्ठले जनतालाई नेपाली समाज परिवर्तनको मौलिक बाटो सम्मुनत सङ्घीय समाजवाद दिएको बताउँदै भने, ‘समुन्नत सङ्घीय समाजवादले समानुपातिक समावेशीकरण सहितको सङ्घीय राज्य बनाई राष्ट्रिय एकता मजबुत बनाउनुका साथै देशलाई समृद्धि, सुशासन र समाजवादको बाटोमा दोहर्याउँछ ।’ पार्टी निर्माणमा विचारको महत्त्वबारे उनले भने, ‘विचार सफ्टवेयर हो भने सङ्गठन हार्डवेयर । सहि बिचारले संगठनलाई मजबुत बनााउँछ ।’
आफ्नो पार्टीले लोकसेवा आयोगको समानुपातिक समावेशी विरुद्धको असंवैधानिक विज्ञापन, गुठी विधेयक, सम्पदा संरक्षण, मातृभाषामा शिक्षा, गैरन्यायिक सडक विस्तार लगायत सरकारको प्रतिगामी कदम विरुद्ध सडक र सदनमा आवाज बुलन्द गरेको बताउँदै यसको विरुद्ध सबैसँग मिलेर संयुक्त सङ्घर्ष गर्न तयार रहेको बताए । उनले जबसम्म देशमा दश जोड एकको राष्ट्रिय पहिचानसहितको सङ्घीयता स्थापित हुँदैन तबसम्म वर्तमान एकल जातीय राज्यविरुद्धको सङ्घर्ष जारी रहने बताए ।
पार्टी भनेको दुई चार जना नेताहरूको जमिन्दारी होइन
राजपासँगको एकीकरणबारे सोधेका जिज्ञासामा उनले वार्ता जारी रहेको तर निष्कर्षमा पुगी नसकेको बताए । उनले पत्रपत्रिकामा भएको अतिशयोक्ति प्रचारबारे आश्चर्य प्रकट गर्दै त्यसलाई आफ्नो पार्टीप्रति पत्रकार मित्रहरूको शुभेच्छाको रूपमा आफूले लिएको बताए ।
त्यसरी नै पार्टीको घोषणापत्रमा नयाँ ढंगको पार्टी दावी गरेको छ, तर तपाँईहरूको बलियो जनाधार रहेको तराइ मधेसमा कांग्रेस कम्युनिष्टमा जस्तै पुरानै सामन्ती शैलीमा व्यक्ति पुजा हुन थालेको छ, के नेताहरूको देवत्वकरण गरेर समाजवाद आउँछ भन्ने प्रश्नको जवाफमा श्रेष्ठले भने, ‘आफूहरू नेताहरूलाई ग्रेटम्यान ठान्ने वा देवत्वकरण गर्ने पक्षमा छैन । कतिपयले पारीपट्टीको सिको गरेको हुन सक्छ । नेपालमा त नेपाली काङ्ग्रेस जस्तो पुँजीवादी पार्टीले समेत कार्यक्रम गर्दा दिवंगत नेताहरूको सम्मानका लागि फोटो राख्ने गरे पनि कार्यक्रमको प्रचारका लागि बाहेक जीउँदा नेताहरूको राख्ने चलन छैन ।’
नेता श्रेष्ठले पार्टी भनेको दुई चार जना नेताहरूको जमिन्दारी नभएको बताउँदै समाजवादी संस्कृतिको विकास गर्न सबैभन्दा पहिला नेताहरूको आचरण सुघ्रिनु पर्ने बताए । उनले नेताहरूको व्यक्ति पुजाको शैलीबाट होइन सामुहिक नेतृत्व प्रणालीको आधारमा पार्टी चलाउनुपर्ने बताए । व्यक्ति पुजाको शैली पुँजीवादी शैली भएको बताउँदै उनले भने, ‘समाजवादी विचार बोकेका नेताहरूले सिद्धान्त मात्र नभई आफ्नो कार्यशैली पनि समाजवादी बनाउन सक्नु पर्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















