काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिकामा रहेका सबै इँटा भट्टाहरु तत्काल हटाउन नगरपालिकाले निर्देशन जारी गरेको छ । नगरपालिका र व्यवसायीबीच असार मसन्तसम्ममा सबै इँटा भट्टा हटाउने सहमति भएपनि व्यवसायीले कार्यन्वयन नगरेपछि नगरपालिकाले उक्त निर्देशन जारी गरिएको हो । इँटा भट्टा हटाउन सबै व्यवसायीलाई नगरले पत्रचार समेत गरेको छ ।
सहमति कार्यान्वयन गर्न इँटा उद्योगीलाई पत्राचार गर्न निर्देशन दिइएको नपाप्रमुख टंकप्रसाद शर्माले जानकारी दिए । ‘असार मसान्तसम्ममा सबै भट्टाहरु हटाउने सहमति भएको थियो ।’ नगर प्रमुख शर्माले भने, ‘सहमति कार्यान्वयन नभएपछि तत्काल हटाउन पत्राचार गरेका हौँ, उहाँहरुले अटेर गर्नुभयो भने हामीहरु आफैँ इँटाभट्टा हटाउनेछौँ ।’
गत माघ महिनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच असार मसान्तभित्र सबै भट्टाहरु हटाउने आठ बुँदे सहमति भएको थियो ।
नमोबुद्ध नपास्थित ३१ सङ्घसंस्थाले भकुण्डेमा रहेका इँटा उद्योग सञ्चालनमा रोक लगाउन नपा कार्यालयमा निवेदनसमेत दिएका थिए । तर, उद्योगीले नपाको आग्रह स्थानीयको मागको अवज्ञा गर्दै इँटा उद्योग सञ्चालन गर्दै आएका थिए । जिल्लामा सञ्चालित २० इँटा उद्योगमध्ये नमोबुद्ध नपाको भकुण्डेमा मात्रै आठ इँटा उद्योग बजार र बस्ती नजिकै सञ्चालित छन् ।
विसं २०७५ वैशाखमा वातावरण विभाग र नमोबुद्ध नपाको संयुक्त अध्ययन अनुगमन टोलीले भकुण्डेमा सञ्चालित इँटा उद्योग मापदण्डविपरीत भएको निष्कर्ष निकालेको थियो । टोलीले इँटा उद्योगबाट निस्कने धुवाँ–धुलोका कारण मावन, घरपालुवा जनावर, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असर परेको जनाएको थियो । ‘त्यतिबेला अनुगमनपछि इँटा उद्योग दर्ता तथा नवीकरणमा रोक लगाउने निर्णय गरेका थियौँ, उद्योगीले नपाको आग्रहलाई अवज्ञा गर्दै दबावपूर्ण तरिकाले सञ्चालन गर्दै आएका थिए ।’
यसैबीच इँटा उद्योग संघका जिल्ला अध्यक्ष जितेन्द्र खयमलीले उद्योग हटाउने निर्णयमा पुनर्विचार गर्न नपासँग पुनः आग्रह गरेको बताए । ‘हामी इँटा उद्योगलाई वातावरणमैत्री बनाउने विषयमा पनि छलफल गर्दैछौँ, नपालाई एकपटक पुनर्विचार गर्न आग्रह गरेका छौँ ।’ उनले भने, ‘सहमति गर्दा उद्योग बन्द नगर्न आग्रह गरे पनि नपाले उद्योग बन्द गर्न गरेको निर्णयलाई कार्यान्वयन गर्न गरिएको आग्रहअनुसार सम्झौतापत्रमा हस्ताक्षर गरेका हौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















