काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, रोशी गाउँपालिका र भुम्लु गाउँपालिकामा सुरक्षित आप्रवासन (सामी) परियोजना कार्यान्वयन हुने भएको छ । परियोजना कार्यन्वयनको लागि २ नगरपालिका, २ गाउँपालिका र परियोजना सहयोग ईकाइ सामी हेल्भेटास बीच आज (मंगलबार) एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर भएपछि लागुहुने भएको हो ।
आयोजना कार्यन्वयनको लागि चारवटै तहको केन्द्रका रुपमा धुलिखेल नगरपालिकामा कार्यलय स्थापना गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३, दफा ११, उप दफा २ (थ) तथा परिच्छेद ६ को दफा २६ (ढ) बमोजि स्थानीय तहहरु बीच एक आपसमा सहयोग, सहकार्य अभिवृद्धि गर्ने उदेश्यले उक्त समझदारी गरिएको आयोजकले बताएको छ । यो परियोजना देशका ३९ वटा जिल्लामा उक्त कार्यक्रम शुरु गरिएको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउने उद्देश्य सहित नेपाल सरकार र स्वीटजरल्याण्ड सरकार बीच भएको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन (सामी) परियोजना तेस्रो चरणको २०७६ भाद्र ३१ देखि २०७९ असार ३१ सम्म संचालन हुनेछ । परियोजना अन्तर्गतका कार्यक्रमहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्वमा स्थानीय सरकारले कार्यान्वयन गर्नेछन् ।  समझदारी पत्रको अवधि २०७६ श्रावण १ गते देखि २०७९ असार ३१ सम्म कायम रहनेछ ।
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले ब्यवस्थापन समितिको अध्यक्षमा धुलिखेल नगरपालिकाका नगर प्रमुख ब्याञ्जुलाई नै तोक्ने निर्णय गरेको छ ।
सकेसम्म विदेशमा जानै नपर्ने बनाउने
कार्यक्रममा नगर प्रमुख ब्याञ्जुले सकेसम्म नेपालीहरु विदेश जानु नपर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । ‘विदेश जानै परे दक्ष बनेर जानु पर्ने वातावरण बनाउनुपर्छ ।’ व्याञ्जुले भने ।
त्यसैगरि मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले कार्यक्रम कार्यान्वयनमा ध्यान दिनु पर्नेमा जोडदिंदै जटिलता धेरै भएकाले त्यसलाई फुकाउन तत्परता देखाउनु पर्ने बताए ।
काभ्रेबाट मात्र वार्षिक ४५ सय जना बैदेशिक रोजगारमा
आर्थिक वर्ष २०७५।०७६ को कार्तिक मसान्तसम्म नेपालबाट बैद्यानिक रुपमा श्रम स्विकृति लिएर विदेशिने नेपालीहरुको संख्या ५१ लाख ९९ हजार ४४ रहेको छ । जस मध्ये ४ प्रतिशत महिला छन् । श्रम स्विकृति नलिने ब्यक्तिहरुको संख्या पनि त्यतिकै रहेको तथ्यांकाले देखाउँछ ।
काभ्रे जिल्लाबाट मात्रै बार्षिक ४५ सय ब्यक्तिहरु विदेशिने गरेका छन् । जसमध्ये ९ सय ६७ महिला छन् । ३४ सय ९९ जना पुरुष छन् । जिल्लाबाट बैदशिक रोजगारका लागि जान चाहने ब्यक्तिहरुका लागि उक्त केन्द्रले सूचना, न्याय र सिप प्रदान गर्नेछ भने चारवटा स्थानीय तहका नागरिकलाई त्यसका अलावा मनोसामाजिक परामर्श र वित्तिय साक्षरता समेत प्रदान गर्नेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।