काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा युवा नेता योगेश भट्टराईसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्ति भएका छन् ।
नवनियुक्त मन्त्री भट्टराईले दरबारीय वा राणा परिवारमा प्रयोग हुँदै आएको भाषा मन्त्रालयमा प्रयोग नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आइस्योस्, गइस्योस् भन्ने भाषा मन्त्रालयमा कसैले पनि प्रयोग नगर्न भट्टराईले निर्देशन दिएका हुन् । ‘सिंहदरबारमा आइस्योस्, गइस्योस् भन्ने भाषा छ भन्ने सुनेको छु, यसअघि भए पनि अब त्यस्तो भाषा कसैले पनि प्रयोग नगरिदिनु होला ।’ उनले भने ।
पत्रिकामा बधाई विज्ञापन नछाप्नुहोस्
आफू मन्त्री भएकोमा खुशी भएर कुनै पनि पत्रिकामा बधाई विज्ञापन नछाप्न पनि उनले आग्र गर्दै मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफूलाई त्यो रमाइलो नलाग्ने बताए। बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले भने, ‘बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनुहोला ।’
एयरलाईन्सको साख माथि उठाउनेछु
मन्त्री भट्टराईले नेपाल एयरलाइन्सको साख माथि उठाउने प्रतिबद्धता जाहेर गरेका छन् । ‘अहिले नेपाल एयरलाइन्स प्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, उठेका प्रश्न न्यूनीकरण गर्नेछौं ।’ उनले भने, ‘एकदिन यस्तो बनाउँछौं, वाह ! नेपाल एयरलाइन्स भन्ने हुन्छ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















