काठमाडौं । प्रतिबन्धित नेकपाका जेलमा रहेका नेता मोहन कार्कीले पार्टीमा केही कुराहरु सच्याउन महासचिव विप्लबलाई सुझाब दिएका छन् । आफू वार्ताको वातावरण बनाउदै गरेको क्रममा गिरफ्तार भएको बताउँदै कार्कीले वार्ताको विकल्प नरहेको बतएका छन् ।
‘पार्टीमा केही कुराहरु सच्याउन र कार्यदिशा अनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियानमा लाग्न महासचि विप्लबलाई सुझाब दिएको छु ।’ कार्कीले भने, ‘सरकारसँग वार्ता गर्नुको विकल्प छैन, द्वन्द्वमा जाँदा कसैलाई फाइदा पुग्दैन ।’
महानगरीय प्रहरी परिसर टेकुमा पत्रकारसँग कुरा गर्दै पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका कार्कीले देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्नेमा उनले जोड दिए ।
वार्ताका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै उनले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्क सूत्रमार्फत प्रयास गर्दैगर्दा पक्राउ परेको बताएका छन् । उनले पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको समेत स्पष्ट पारे ।
‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकीकृत ढंगले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो ।’ उनले भने, ‘कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नु भएको छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















