काभ्रे । जिल्लाको बनेपामा एक बालक पानी ट्यांकीमा मृत अवस्थामा फेला परेको छ । बनेपा नगरपालिका–६ मा डेरा गरी बस्दै आएका ध्रुव खरेलका १६ महिने छोरा अभिनव शुक्रबार बिहान पानी ट्यांकीमा मृत अवस्थामा फेला परेका हुन् ।
अभिनवलाई मृत फेला पारेको एक घण्टा अघि मात्र ओछ्यानमै छाडेर खरेल दम्पती पानी लिन गएका थिए । ‘कोठामा बुवालाई नाती हेर्दै गर्नु भनेर पानी लिन गएका थियौं ।’ खरेल दम्पतिले भने, ‘हामी पानी लिएर आउँदा छोरा हराइसके छ ।’
छोरो हराएपछि खोजी गर्ने क्रममा रिजर्ब ट्यांकी खोलेर हेर्दा मृत अवस्थामा फेला परेको खरेलले बताए । १६ महिनाको बालकले ट्याङ्कीको ढकन खोल्न नसक्ने बताउँदै अभिनवको कसैले हत्या गरेर फालिएको हुनसक्ने उनको शंका छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले घटना शंकास्पद भएकोले शूक्ष्म अनुसन्धान गरी सत्य छिट्टै बाहिर ल्याउने बताए । निदाइरहेको बालकको केही समयपछि नै ट्याङ्की भित्र शव भेटिनु रहस्यमय भएको भन्दै स्थानीयले सत्यतथ्य छानबिन गर्न प्रहरीलाई आग्रह गरेका छन् ।
चितवनको राप्ती नगरपालिका स्थाई घर भएका खरेल दम्पती बनेपामा डेरा गरी बसेका थिए । दम्पती डेरा नजिक ग्यारेज सञ्चालन गर्दै आएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।