रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाको ३ नं. वडा कार्यालयमा बम विष्फोट भएको छ । भीरपानीमा रहेको उक्त वडा कार्यालयमा अज्ञात समुहले बम विस्फोट गराएको हो । आज (शनिबार) बिहान करिब दुई बजेको समयमा सिलिन्टर बम विस्फोट हुँदा कार्यालय ध्वस्त भएको छ भने कार्यालयभित्र रहेको कागजपत्र जलेर नष्ट भएको छ ।
भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीका अनुसार बम विस्फोटको कारण कार्यालयमा ठूलो क्षति भएको छ । ‘चार वटा कोठा रहेको कार्यालयको एउटा कोठा पूर्ण रुपमा क्षति भएको छ ।’ वडा अध्यक्ष कार्कीले भने, ‘कार्यालयको अन्य कोठामा पनि क्षति पुगेको छ ।’
जिल्ला प्रहरी कार्यालय रामेछापले पनि अज्ञात समुहको खोजी कार्य अगाडि बढाइएको बताएको छ । जिल्ला प्राविधिक कार्यालयले करिब आठ बर्ष अघि सभा हल सहित चार कोठे पक्की भवन निर्माण गरेको थियो । सोही भवन नै हाल वडा कार्यालय रहेको थियो । विष्फोटको जिम्मा कसैले पनि लिएको छैन । सरकारद्वारा प्रतिबन्धित नेकपा (विप्लब समूह)ले विष्फोट गराएको आशंका स्थानीयले गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।