काभ्रे । सरकारबाट प्रतिबन्धित नेकपा (बिप्लब समूह)का रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेल (जमिन) पक्राउ परेका छन् । धुलिखेल नगरपालिका वडा नं. ५, काभ्रे निवासी ढुंगेललाई काभ्रेमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
ढुंगेललाई काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी जयराज सापकोटा जानकारी दिए । ‘आगजनी र विष्फोटमा सहभागिता देखिएकाले नियन्त्रणमा लिएका छौं ।’ एसपी सापकोटाले भने । ढुंगेललाई आइतबार घरबाटै पक्राउ गरेको हो ।

नेकपाको आपत्ति
यसैबीच नेकपा ताम्सालिङ ब्युरो इन्चार्ज आधारले नेकपा रामेछापका इन्चार्ज ढुङ्गेललाई गरिफ्तार गरेकोमा आपत्ति प्रकट गरेका छन् । ढुंगेललाई विभिन्न झूट्टा आरोप लगाउँदै आइतबार काभ्रेको धुलिखेल नगरपालिका ५ बाट गिरफ्तार गरिएकोमा कडा आपत्ति प्रकट गरेका हुन् । इन्चार्ज आधारले बिनासर्त तत्काल रिहा नगरिए कडा प्रतिरोधको सामना गर्नुपर्ने चेतावनी समेत दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















