काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसको एउटै विषयमा बैठक अल्झेको एक महिना भइसकेको छ । महिना दिनमा १० बैठक बसिसके, तर नतिजा भने अझै निस्केको छैन । विधानअनुसार अन्तरिम संरचना गठनका लागि एक महिनाअघि सुरु केन्द्रीय समिति बैठक अझै जारी छ । थप गृहकार्य गर्न भन्दै स्थगित बैठक आइतबारदेखि फेरि सुरु हुँदै छ ।
देश संघीयतामा गएको तीन वर्षपछि आफ्ना संरचनालाई यसै अनुरूप ढाल्ने भन्दै विधान संशोधन गरेको कांग्रेसले त्यस्ता संरचना गठन गर्न सकेको छैन । विधानमा बुथ, वडा, पालिका, प्रदेश क्षेत्र, संघीय क्षेत्र, प्रदेश गरी ६ तह संरचनाको व्यवस्था छ । केही जिल्ला कार्यसमिति पनि गठन गर्नुपर्नेछ ।
गत पुसमा महासमिति बैठकले विधान संशोधन गरी आठ तहका संरचना गठनको निर्णय ग(यो । त्यसको दुई महिनापछि केन्द्रीय समितिले विधान पास गरी निर्वाचनबाटै यस्ता संरचना गठन गर्ने निर्णय ग(यो । तर, छोटो समयमा अन्तरिम संरचना र १४ औँ महाधिवेशनको कार्यक्रम गरी दुईपटक निर्वाचन नगर्ने भन्दै सहमतिबाटै संरचना गठनमा नेता जुटेका छन् ।
एकमहिने बैठकका क्रममा नेता सहमतिबाटै संरचना गठन गर्ने सहमतिनजिक पुगेको बताएका छन् । महिनाभरि केही नेताले दुईपटक र तीनपटकसहित गरी बैठकमा एक सय २० जनाले बोलिसकेका छन् । कांग्रेसमा ८४ केन्द्रीय र नौ आमन्त्रित गरी ९३ सदस्यीय कार्यसमिति छ । यो समाचार रमेश सापकोटाले नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















