पोखरा । घुस लिने कर्मचारी अख्तियारको फन्दामा पर्ने क्रम जारी रहेको छ । यसैबीच डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इन्जिनियर हरिकुमार पोखरेल घुस लिँदै गरेको अवस्थामा अख्तियारको फन्दामा परेका छन् । उनीसहित दुई जनालाई अख्तियार टोलीले नौ लाख घुससहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इन्जिनियर पवित्रमणि आचार्यलाई ९ लाख रुपैयाँसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।
स्रोतका अनुसार सडक डिभिजन कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी पोखरेलले आफ्नै क्वाटरमा ठेकेदार ऋषि आचार्यसँग पैसा बुझ्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । अख्तियार पोखरा प्रमुख दाहालले पक्राउ परेको पुष्टि गरे पनि रकम भने खुलाएका छैनन् ।
‘अख्तियार टोलीले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई समातेको सत्य हो,’ उनले भने, ‘अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा बताउन मिलेन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















